फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा चेम्बर अध्यक्ष अग्रवालको जोड

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसाय महासंघको ११औँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस क्षेत्रलाई मुलुकको औद्योगिक विकास, आर्थिक गतिविधि विस्तार तथा रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन्।

उनले फर्निचर तथा फर्निसिङ उद्योगलाई केवल कुर्सी, टेबल वा सोफा उत्पादन गर्ने क्षेत्रका रूपमा मात्र नहेरी निर्माण, पर्यटन, होटल व्यवसाय, आवास, शैक्षिक संस्था तथा कार्यालय व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको रणनीतिक उद्योगका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

अग्रवालका अनुसार स्थानीय काठ, बाँस, धातु, कपडा, फोम, ग्लासलगायतका कच्चा पदार्थमा मूल्य अभिवृद्धि गरी हजारौँ नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्न फर्निचर उद्योगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

नेपालमा तीव्र शहरीकरण, नयाँ घर निर्माण, होटल तथा रिसोर्ट विस्तार, कार्यालयहरूको आधुनिकीकरण तथा जीवनशैलीमा आएको परिवर्तनसँगै फर्निचर तथा इन्टेरियर बजारको सम्भावना अत्यन्त ठूलो रहेको उल्लेख गर्दै उनले सही नीति, प्रविधि र लगानीमैत्री वातावरण निर्माण गर्न सके यो क्षेत्र देशकै प्रमुख उद्योगमध्ये एक बन्न सक्ने बताए।

अध्यक्ष अग्रवालले हाल उद्योगले कच्चा पदार्थको अभाव, उत्पादन लागत वृद्धि, बैंक ब्याजदर तथा वित्तीय पहुँचको समस्या, दक्ष जनशक्तिको कमी, विदेशी उत्पादनसँगको अस्वस्थ प्रतिस्पर्धा, आधुनिक प्रविधिको सीमित प्रयोग, ढुवानी तथा ऊर्जा लागत वृद्धि, अव्यवस्थित बजार र ब्रान्डिङको कमजोरीजस्ता चुनौती सामना गरिरहेको बताए।

“हामीले खुला बजारको नाममा स्वदेशी उद्योगलाई कमजोर बनाउने होइन, प्रतिस्पर्धी बनाउने नीति अवलम्बन गर्नुपर्छ,” उनले भने।

उनका अनुसार नेपाली फर्निचर तथा फर्निसिङ उद्योगको दिगो विकासका लागि गुणस्तर, डिजाइन तथा नवप्रवर्तन, ब्रान्डिङ र बजार विस्तार तीन आधारभूत पक्ष अत्यन्त महत्वपूर्ण छन्। विश्व बजार अहिले डिजाइन, टिकाउपन, वातावरणमैत्री उत्पादन तथा ग्राहक अनुभवमा केन्द्रित भएकाले नेपाली उद्योगले पनि समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

विश्व बजार इको-फ्रेन्ड्ली, स्मार्ट फर्निचर, मोडुलर डिजाइन तथा दिगो फर्निसिङतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै अग्रवालले नेपालमा रहेको काठकला, हस्तकला तथा परम्परागत डिजाइनको अद्वितीय क्षमतालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात क्षेत्रमा ठूलो छलाङ मार्न सकिने बताए।

नेपालको आर्थिक समृद्धि केवल आयात र रेमिट्यान्समा आधारित हुन नसक्ने भन्दै उनले उत्पादन, उद्योग र उद्यमशीलतामा आधारित अर्थतन्त्र निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरे। त्यसका लागि सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य तथा नीतिगत स्थिरता आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष अग्रवालले सरकारसमक्ष केही महत्वपूर्ण सुझावसमेत प्रस्तुत गरे। उनले सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय तथा सार्वजनिक संस्थानहरूमा स्वदेशी फर्निचरको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। साथै उद्योग विस्तारका लागि सहुलियतपूर्ण ब्याजदरमा दीर्घकालीन ऋण तथा कार्यशील पुँजीको सहज पहुँच उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले फर्निचर डिजाइन, आन्तरिक प्रविधि तथा आधुनिक काठ इन्जिनियरिङसम्बन्धी सीप विकास केन्द्र स्थापना, मेसिनरी आयातमा कर सहुलियत, प्रविधि आधुनिकीकरणका लागि विशेष प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रदर्शनी र व्यापार मेलामार्फत निर्यात प्रवर्द्धन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

सरकारले प्रस्ताव गरेको आर्थिक वर्ष २०८३र८४ को बजेटले उद्योगले भोग्दै आएका प्रमुख समस्याहरू सम्बोधन गर्ने प्रयास गरेको महसुस भएको उल्लेख गर्दै उनले वन संरक्षण र औद्योगिक कच्चा पदार्थको आवश्यकताबीच सन्तुलन कायम गरी व्यवस्थित काठ आपूर्ति नीति लागू गर्नुपर्नेमा पनि जोड दिए।

सिफारिस