काठमाडौँ । रुपन्देही जिल्ला क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही नेतालाई आर्थिक प्रलोभन देखाएर आफ्नो पक्षमा ल्याउने प्रयास गरेको आरोप राप्रपाले लगाएको छ।
राप्रपा रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको भन्दै विज्ञप्ति सार्वजनिक गरेपछि सो विषयमा विवादित बनेको हो। उक्त विज्ञप्तिप्रति आपत्ति जनाउँदै राप्रपाका जिल्ला अध्यक्ष सागरप्रताप राणाले आइतबार पत्रकार सम्मेलन गरी पार्टीले कुनै पनि तहबाट कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय नगरेको स्पष्ट पारेका छन्।
जिल्ला अध्यक्ष राणाका अनुसार पार्टीभित्र छलफल र सहमति नै नभई निकालिएको विज्ञप्तिको कुनै अर्थ नरहेको बताउँदै कांग्रेस उम्मेदवार पौडेलले केही नेताहरूलाई पैसाको प्रलोभनमा पार्ने प्रयास गरेको दाबी गरे। उनले पार्टीको आधिकारिक निर्णय बिना सार्वजनिक गरिएका धारणा व्यक्तिगत भएको स्पष्ट गरे।
राणाले केन्द्रदेखि जिल्ला तहसम्म कुनै पनि दलसँग तालमेल वा समर्थनको निर्णय नभएको जानकारी दिँदै, कसैले व्यक्तिगत रूपमा आर्थिक चलखेल गरेको हुन सक्ने बताए । पार्टीले औपचारिक रूपमा कसैलाई समर्थन गरेको उनले प्रष्ट पारे ।
यसअघि राप्रपाबाट उम्मेदवारी दिएकी कार्भिका थापाको उम्मेदवारी अमेरिकी स्थायी आवास (पीआर) त्यागेको तीन महिना नपुगेको कारण फिर्ता भएको थियो।
क्षेत्रीय अध्यक्ष थापा र जिल्ला अध्यक्ष राणाले आइतबार नै फरक-फरक विज्ञप्ति जारी गरेका थिए। जिल्ला अध्यक्ष राणाले चुनावको मुखमा मतदातालाई भ्रमित पार्ने उद्देश्यले विज्ञप्ति आएको भन्दै त्यसबाट प्रभावित नहुन पार्टीका नेता-कार्यकर्ता तथा समर्थकलाई आग्रह गरेका छन्।