दलित महिला मुक्ति आन्दोलनको अविचलित पाइला, दृढ संकल्प, स्पष्ट बिचार र कठिन संघर्षद्वारा स्थापित नाम हो- दुर्गा सोब ! विगत ३५ वर्षदेखि सामाजिक न्याय, समानता र दलित महिलाको आत्मसम्मनका लागि निरन्तर संघर्षरत उनी आज पनि उही प्रतिबद्धता र ऊर्जा लिएर राजनीतिक यात्रामा अघि बढिरहेकी छन्।
दुर्गा सोबले आफ्नो आन्दोलनको यात्रा देशका दुर्गम बस्तीहरूदेखि राजधानीका सडकसम्म मात्र सीमित राखिनन् । उनले राष्ट्रिय स्तरमा समेत दलित, महिला र सीमान्तीकृत समुदायको आवाज बनिरहिन् ।
उनी कहिले सुदुर बस्तीका निमुखा दलित महिलालाई मुक्तिका लागि एकजुट हुन आब्हान गर्छिन् । कहिले न्याय र स्वतन्त्रताका लागि सडक आन्दोलन गरिरहेकी हुन्छिन् । त कहिले तिनै आम भुइँ मान्छेको न्यायको वकालत गर्दै बिभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा आवाज बुलन्द गरिरहेकी हुन्छिन् ।
विशेषगरी दलित महिलामाथि हुने दोहोरो-तेहोरो विभेदविरुद्ध संगठित संघर्षको आवश्यकता महसुस गर्दै उनले दलित महिला संघ (फेडो) स्थापना गरी संस्थापक अध्यक्षको भूमिका निर्वाह गरिन्। फेडोमार्फत दलित महिलाको शिक्षा, अधिकार, नेतृत्व विकास र कानुनी पहुँच विस्तारमा उनले महत्वपूर्ण योगदान दिइन्।
उनको नेतृत्व र सक्रियताले सामाजिक न्याय र समावेशीताको सवाललाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो। समावेशी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका आन्दोलनहरूमा उनको सहभागिता सशक्त रह्यो, जसको परिणामस्वरूप केही महत्वपूर्ण संवैधानिक तथा कानुनी उपलब्धीहरू हासिल भएका छन्।
तर, नेपाली समाजमा विद्यमान जातीय विभेद, लैङ्गिक असमानता र आर्थिक-सामाजिक बहिष्करणका समस्या अझै समाधान हुन बाँकी छन् भन्ने यथार्थप्रति उनी सचेत छिन्।
यसै सन्दर्भमा, उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संयोजकका रूपमा क्रियाशील रहँदै प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेद्वार बनेकी छन्।
उनको उम्मेदवारी केवल संसदीय पद प्राप्तिको लक्ष्य नभई, आन्दोलनको निरन्तरता र नीतिगत तहमा परिवर्तन सुनिश्चित गर्ने प्रयास हो। संसदमा पुगेर सामाजिक न्याय, समावेशी लोकतन्त्र, सुशासन र सीमान्तकृत समुदायको अधिकारका पक्षमा सशक्त आवाज उठाउने उनको दृढ प्रतिबद्धता छ।
दुर्गा सोबको राजनीतिक यात्रा त्याग, इमानदारिता र निरन्तर संघर्षबाट अघि बढेको छ । उनले सधैं देश र जनताको गम्भीर संकट समाधान गर्ने प्रक्रियामा सक्रिय भूमिका खेलेकी छन् । उनले भविष्यमा पनि त्यसैगरी लागिरहने दृढता व्यक्त गरेकी छन्।
देश, समाज, महिला, दलित र सीमान्तकृत समुदायका सवाललाई संसदभित्र प्रभावकारी रूपमा उठाउने योजनासहित उनी समानुपातिक तर्फबाट उम्मेद्वार बनेकी हुन्।
अन्ततः, परिवर्तन, सुशासन र सामाजिक न्यायसहितको समावेशी लोकतन्त्रको पक्षमा दृढ उभिँदै उनले सम्पूर्ण नेपाली दाजुभाइ-दिदीबहिनी, अधिकारकर्मी, सामाजिक अभियन्ता, सहकर्मी र आम जनतालाई समानुपातिक तर्फ ‘आँखा’ चिन्हमा मतदान गरी समर्थन गर्न हार्दिक अपिल गरेकी छन्।
उनको उम्मेदवारी केवल एक व्यक्तिको राजनीतिक यात्रा होइन, बरु दलित महिला मुक्तिको लामो संघर्षको संसदीय रूपान्तरणको प्रयास हो।