काठमाडौं-६ मा प्रलोपाका उम्मेदवार गिरिराज अर्याल नेकपामा समाहित, हिमाल शर्मालाई समर्थन गर्ने

दियोपोस्ट संवाददाता  

काठमाडौं । काठमाडौं ६ का प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार गिरिराज अर्याल आफ्नो क्षेत्रीय कमिटीसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी समाहित भएको घोषणा गरेका हुन्।

पार्टी प्रवेशका क्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल र सोही क्षेत्रका नेकपाका प्रतिनिधिसभा उम्मेदवार हिमाल शर्मा ले अर्याललाई स्वागत गरेका थिए।

सो क्रममा दाहालले वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै देश निर्माणको जिम्मेवारी नेकपाले नै पूरा गर्ने दाबी गरे। साथै, नेकपाबाट अलग रहेका शक्तिहरू क्रमशः पुनः समाहित हुँदै जाने उनले बताए।

पार्टी प्रवेशपछि अर्यालले वर्तमान राजनीतिक परिस्थितिमा स्पष्ट एजेन्डासहित अघि बढिरहेको अग्रगामी शक्ति नेकपा नै भएको धारणा राखे। उनले आफू र प्रगतिशील लोकतान्त्रिक पार्टीको क्षेत्रीय कमिटी आजकै मितिदेखि नेकपामा औपचारिक रूपमा समाहित भएको जानकारी दिए।

अर्यालले आफू काठमाडौं–६ बाट प्रतिनिधिसभा उम्मेदवार नरहेको स्पष्ट पार्दै आफ्ना समर्थक तथा पार्टीका नेता-कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा तारा चिन्हमा मतदान गर्न आग्रह गरे। साथै, यस अवधिसम्म साथ र समर्थन गर्ने सबैप्रति उनले आभार व्यक्त गरे।

यस अवसरमा उम्मेदवार हिमाल शर्माले अर्यालको पार्टी प्रवेशले आफ्नो चुनावी अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

सिफारिस