नवनिर्वाचित राष्ट्रियसभा सदस्यको ‘शपथ’ आज हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ। राष्ट्रियसभामा हालै निर्वाचित सदस्यहरूको शपथग्रहण आज हुने भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम आयोजना गरिने भएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम नवनिर्वाचित सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शपथग्रहण कार्यक्रममा सहभागी हुन सदस्यहरूलाई आफ्नो पहिचान झल्कने पोशाकसहित निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र तथा नागरिकताको प्रतिलिपि साथमा ल्याउन अनुरोध गरिएको जानकारी दिए।

उनका अनुसार नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले कानुनी व्यवस्थाअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्नेछ।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट विभिन्न प्रदेशबाट सदस्यहरू निर्वाचित भएका छन्। कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन्।

त्यसैगरी मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर विजयी भएका छन्। बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका छन्।

लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुँदा कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही विजयी भएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन्।

उल्लेखनीय छ कि राष्ट्रियसभाका रिक्त हुन लागेका १८ पदका लागि गत माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो।

ट्रेन्डिङ