काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसके पनि निर्वाचन आयोगले हालसम्म नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार जारी प्रेस वक्तव्यमा नेकपाले निर्वाचन आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन, २०७४ अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको उल्लेख गरेको छ।
यस्तो अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना सकिएपछि पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगर्नु गम्भीर सरोकारको विषय भएको नेकपाको भनाइ छ।
वक्तव्यअनुसार आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भएको र नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको परिणाम सार्वजनिक भइसकेको दाबी गरिएको छ। तर त्यसपछि पनि प्रमाणपत्र दिन आलटाल गरिएको तथा निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका गतिविधि भएको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ।
पार्टीले कानुनअनुसार उम्मेदवारी खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित विषय देखाउँदै प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने जनाएको छ।
नेकपाले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न, कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष रूपमा काम गर्न आग्रह गरेको छ। साथै न्यायालयले पनि कानून र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास व्यक्त गरेको छ।

