बालेनले बुझाए निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण, कुल खर्च १४ लाख १७ हजार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा झापा क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बालेन्द्र साह (बालेन)ले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका छन् । उनले चुनावमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

बालेनले चुनाव प्रचारका क्रममा विभिन्न शीर्षकमा खर्च गरेको उल्लेख गरेका छन्। सबैभन्दा धेरै रकम प्रचार कार्यक्रमका लागि खर्च भएको देखिन्छ भने सबैभन्दा कम रकम मनोनयन दर्ताका लागि खर्च गरिएको छ।

खर्च विवरण अनुसार सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ। त्यसैगरी हवाइ भाडामा ३५ हजार रुपैयाँ खर्च गरिएको देखाइएको छ। मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाना खर्च २९ हजार ३९० रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ।

त्यस्तै वडा स्तरीय प्रचार कार्यक्रमका क्रममा खाजा खर्च २८ हजार ९७० रुपैयाँ भएको देखिन्छ। प्रचार–प्रसार कार्यक्रमका लागि भने ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

खर्च विवरणमा सबैभन्दा कम रकम मनोनयन दर्ताका लागि खर्च गरिएको देखिएको छ, जसका लागि १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

उम्मेदवारले बुझाएको कुल खर्च विवरण अनुसार चुनावी अभियानमा जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको देखिन्छ। निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

ट्रेन्डिङ