काठमाडौँ- सामाजिक सञ्जालमार्फत शोभा पाठकको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले रामेछापकी ३५ वर्षीया भगवती खड्कालाई पक्राउ गरेको छ ।
रामेछापको मन्थली नगरपालिका वडा नं. १२ स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने खड्कालाई ब्यूरोले २०८२ चैत १७ गते काठमाडौँबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी खड्का पेशाले रेस्लर समेत हुन्।
पीडित पाठकले आफ्नो बुबा, दाइ, काका र साथीहरूको फोटो हालेर ‘मेरो श्रीमान्’ भन्दै भ्रामक र अश्लील प्रचार गरेको भन्दै ब्यूरोमा निवेदन दिएकी थिइन्। “मैले हिजो उजुरी गरेको थिएँ। मेरो बुबाको, दाइको फोटो, काकाको, साथीहरूको फोटो हालेर, मेरो श्रीमान् भनेर लेखेको रहेछ”, पाठकले दियोपोस्टलाई बताइन्।
साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार यस मुद्दामा प्राविधिक अनुसन्धान र विश्लेषण भइरहेको छ । “उहाँ (खड्का) लाई जिल्ला अदालत काठमाडौंको आदेशले अनुसन्धानका लागि चार (४) दिनको म्याद थप गरी हिरासतमा लिएका छौं”, गिरिले दियोपोस्टलाई बताए ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरि कसैको चरित्र हत्या गर्ने क्रम बढिरहेको छ।
सामाजिक सञ्जालको दुरुपयोग गरी कसैको चरित्र हत्या गर्ने कार्य कानुनतः दण्डनीय हुने व्यहोरा प्रहरीले स्पष्ट पारेको छ ।