सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै धादिङको थाँक्रेमा अवैध उत्खनन्, वडाध्यक्षको मिलेमतो !

दियो पोस्ट  

धादिङ । धादिङको थाँक्रे गाउँपालिका ७ सातकिल्ला स्थित गैरकानुनी तरिकाले सञ्चालनमा आएको श्री कुमारी माता रोडा ढुंगा उद्योगले सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै फेरी उत्खनन् शुरु गरेको छ ।
गत असार २५ गते सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त ईजलाशले उत्खनन् कार्य रोक्न आदेश दिएको थियो । अन्तरिम आदेश जारी नै रहेको बेला स्थानिय निकाय र खानी संचालकहरुको मिलेमतोमा अवैध रुपमा उत्खनन् कार्य शुरु भएको हो । दियोपोस्टलाई प्राप्त भिडियोमा अवैध रुपमा ब्रेकर चलाएर उत्खनन् शुरु गरिएको छ ।

खानीबाट पीडित भएका रामकृष्ण पन्त लगायत दर्जनौँ पीडितहरुले गाउँपालिका लगायतले आफ्नो पीडा नसुनेपछि सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । पीडितको तर्फबाट अधिवक्ता मोहन साशंकरले गरेको बहसका आधारमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

पीडितहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, खानी तथा भूगर्भ विभाग, कुमारीमाता रोडा ढुंगा उद्योग, थाँक्रे गाउँपालिका लगायतलाई विपक्षि बनाएर केहीदिन अघि रिट दायर गरेका थिए ।

थांक्रे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष युवराज खतिवडाले स्थानियलाई अन्याय हुने गरि उक्त खानी संचालनका लागि सिफारिस दिएका छन् । उनीमाथि समेत अदालतको अबहेलना मुद्दा लाग्न सक्ने जानकार बताउँछन् । सर्वोच्चमा अन्तरिम आदेशपछि अर्को छलफल समेत नभएको अवस्थामा गाउँपालिका र खानी संचालकहरुको मिलेमतोमा अवैध रुपमा उत्खनन् शुरु भएको हो ।

अदालतको आदेश विपरित खानी संचालन भएपछि स्थानियले ईलाका प्रहरी कार्यालय खानीखोलामा उजुरी दिएका थिए । तर, उजुरीको सुनुवाई गर्नुको सट्टा प्रहरी समेत खानी संचालकसँगको मिलेमतो गरेको पीडितहरुको गुनासो छ । प्रहरीले खानी संचालनको लागि सर्वोच्च अदालतको कुनै कागजात नै नभई संचालनका लागि सहयोगी भूमिका निभाएको स्थानियको भनाई छ । ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख सई धन बहादुर विष्टले आफूहरुकोमा उजुरी आएको तर विस्तृतमा आफूले पछि बताउने प्रतिक्रिया दिए ।

सिफारिस