काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायतलाई हत्या गर्ने धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरी टोली त्यसतर्फ जाने भएको छ । पाठकलाई फिलिपिन्सको अध्यागमन तथा सुरक्षा निकायले नियन्त्रणमा लिएपछि उनलाई नेपाल ल्याउन प्रहरी टोली फिलिपिन्स जाने भएको हो ।
पाठकले केही समयअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै अख्तियार प्रमुख राईसहित १० जनालाई हत्या गर्ने धम्की दिएका थिए। उक्त भिडियो व्यापक रूपमा फैलिनुका साथै राज्यका उच्च पदस्थ अधिकारीको सुरक्षामाथि गम्भीर प्रश्न उठेपछि सुरक्षा निकाय सक्रिय बनेको थियो। उक्त भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा पाठक भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेको खुलेको थियो। नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको सूचनाका आधारमा फिलिपिन्सको ब्यूरो अफ इमिग्रेशन अन्तर्गतको फ्युजिटिभ सर्च युनिटले पाठकलाई नियन्त्रणमा लिएको थियो ।
उनी हाल फिलिपिन्सको अध्यागमन हिरासतमा रहेका छन्। त्यहाँको अध्यागमन कार्यालयले पाठकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै डिपोर्टेसन (देश निकाला)को तयारी गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार पाठकलाई नेपाल ल्याउन इन्टरपोलमार्फत अन्तर्राष्ट्रिय प्रहरी सहकार्य संयन्त्र प्रयोग गरिएको थियो । नेपालमा उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको र गम्भीर प्रकृतिको अपराधमा अनुसन्धान भइरहेको भन्दै इन्टरपोल डिफ्युजन नोटिसमार्फत उनको खोजी गरिएको थियो।
नेपाल र फिलिपिन्सबीच प्रत्यक्ष प्रत्यर्पण सन्धि नभएकाले डिपोर्टेसन प्रक्रियामार्फत उनलाई नेपाल ल्याइने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ। फिलिपिन्सको अध्यागमन कानुनअनुसार विदेशी नागरिकलाई अवैध वा आपराधिक गतिविधिमा संलग्न देखिएमा देश निकाला गर्न सकिने प्रावधान छ।
नेपाल प्रहरी उच्च स्रोतका अनुसार आवश्यक कागजात र समन्वय पूरा भएपछि प्रहरी टोली फिलिपिन्स पठाइने छ। त्यहाँको अध्यागमन निकायसँग औपचारिक प्रक्रिया पूरा गरी पाठकलाई नेपाल ल्याइएपछि अदालतमा उपस्थित गराइनेछ।
प्रहरीका अनुसार पाठक नेपाल आइपुगेपछि राज्यविरुद्धको अपराध, आपराधिक धम्की र साइबर अपराध लगायतका विषयमा थप अनुसन्धान गरिनेछ।