अनलाइन स्क्यामिङ मार्फत १२ करोड भन्दा बढी ठगी गरेको आरोपमा चिनियाँसहित ११ जना पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मोबाइल एपमार्फत अनलाइन स्क्यामिङ गरि करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । सर्वसाधारणलाई आकर्षक आम्दानीको प्रलोभन देखाई १२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहित ११ जनालाई सोमबार पक्राउ गरेको हो।

उनीहरूलाई चितवन र काठमाडौंबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । नेपाल प्रहरीको साइबर ब्युरो तथा जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले चितवनमा कार्यालय सञ्चालन गर्दै आएको ‘एसएमसी’ नामक मोबाइल एप मार्फत ठगी भइरहेको उजुरीपछि अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा ५२५ जनाले सामूहिक उजुरी दिएपछि ठगीबारे अनुसन्धान गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार ‘एसएमसी’ एप प्रयोग गरेर ७० हजारभन्दा बढी नेपाली नागरिकबाट विभिन्न चरणमा रकम असुल गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडितहरूलाई एप डाउनलोड गराई सुरुमा सामान्य आम्दानी देखाइने र पछि ठूलो रकम लगानी गरेपछि पैसा निकाल्न नदिने, सम्पर्कविहीन हुने तथा एप नै बन्द हुने गरेको उजुरीमा उल्लेख छ।

पक्राउ परेकामध्ये एक जना चिनियाँ नागरिक हे जियाङजियाङ समेत रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले चितवनमा कार्यालय खोलेर नेपाली कर्मचारीसमेत प्रयोग गरी संगठित रूपमा ठगी गरेको देखिएको प्रहरीले जनाएको छ।

एसएमसी एपले सामाजिक सञ्जाल, म्यासेजिङ एप तथा अनलाइन विज्ञापनमार्फत ‘घरमै बसेर आम्दानी’, ‘भिडियो हेरेर पैसा’ जस्ता आकर्षक विज्ञापन गर्दै सर्वसाधारणलाई फसाउने गरेको थियो।

केही पीडितले सुरुमा सानो रकम प्राप्त गरेपछि थप लगानी गर्न प्रेरित गरिएको र अन्ततः सम्पूर्ण रकम गुमाएको बताएका छन्।

प्रहरीले ठगी, संगठित अपराध तथा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

साथै, ठगीमा प्रयोग भएका बैंक खाता, डिजिटल वालेट तथा प्रविधिक सञ्जालको समेत विस्तृत छानबिन भइरहेको छ।

यस घटनापछि प्रहरी तथा बैंकिङ निकायले अनाधिकृत मोबाइल एप, अस्वाभाविक आम्दानीको प्रलोभन र विदेशी नियन्त्रित अनलाइन प्लेटफर्मप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रहरीले यस्ता ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र पीडितलाई उजुरी दिन आग्रहसमेत गरेको छ।

सिफारिस