काठमाडौं । दलित अभियन्ताका नामले चिनिदैँ आएका खगेन्द्र सुनारले आइतबार बिहानै फेसबुकमा ‘देश पहिला, देश पछि अरु ! त्यस पछि अरु । केही महत्वपूर्ण तयारी हुँदैछ ! तपाई पनि तयार हुनुस् !!’ भन्दै अलि अस्पस्ट खालको क्यापसन लेखेर काठमाडौँ महानगरका मेयर बालेन साहसंगै उभिएको फोटो पोष्ट गरे ।
बालेनसंगको फोटोले उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संग सहकार्य गर्दैछन् या रास्वपामा प्रवेश गर्ने तयारीमा छन् भन्ने बुझ्न सकिन्थ्यो । उक्त स्टाटसले उनी रास्वपामा प्रवेश गर्न लागेको संकेत गरेको थियो । त्यसलगत्तै आइबतार साँझ उनी रास्वपामा प्रवेश गरेको समाचार बाहिरियो ।
रास्वपाको आइतबार बसेको केन्द्रिय समिति बैठकमा सुनारलाई केन्द्रिय सदस्य पदमा मनोनयन गरेपछि उनी औपचारिक रुपमा रास्वपाको केन्द्रिय सदस्य बनेका छन् ।

तर, दलितलाई खोई? भन्दै अधिकारबाट बिमुख भएका दलित समुदायको आशाको केन्द्र बनेका सुनार एकाएक रास्वपामा प्रवेश गरेपछि उनको आलोचना सुरु भएको छ। दलित अधिकारकर्मी तथा अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत उनको कदम प्रति असन्तुष्टि जनाएका छन्।
केही महिना अघि मात्र ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दल स्थापना गरी स्वयं सभापति बनेका सुनार रास्वपामा समाहित हुनु दलित समुदायप्रति धोका भएको उनीहरुको आरोप छ। आलोचकहरूले दलित समुदायको प्रतिनिधित्व र स्वतन्त्र राजनीतिक आवाज कमजोर पारिएको भन्दै आपत्ति जनाएका छन्।
सुनारले ६० लाख दलित समुदायको अपेक्षामाथि घात गरेको आरोप छ। दलित मुद्दालाई केन्द्रमा राखेर नयाँ दल खोलेका उनले अल्पकालमै अर्को पार्टीमा समाहित हुनु राजनीतिक अस्थिरता र अवसरवादको उदाहरण भएको टिप्पणी गरिएको छ।
सामाजिक सञ्जालमा केही अभियन्ताहरूले ‘दलितको नाममा राजनीति गरेर अन्ततः मुख्यधारका पार्टीमा विलय हुनु दीर्घकालीन दलित आन्दोलनमाथि चोट हो ।’ भन्दै प्रतिक्रिया जनाएका छन्। उनीहरूले दलित समुदायको आफ्नै राजनीतिक शक्ति निर्माण आवश्यक रहेको धारणा समेत राखेका छन्।
फेसबुक प्रयोगकर्ता कमल बिके लेख्छन्, ‘एक थान केन्द्रीय सदस्यको पद पाउँदा दलितलाई खै भन्ने आन्दोलन कहाँ पुग्यो? बालेन र कुलमानले गरे जस्तो सहमतिपत्र त देखिएन नि ? अनि दलितलाई खै भन्ने अभियानको अपनत्व रास्वपाले लियो कि नाई? आफ्नो दुनु सोझ्याउनसम्म मात्र सीमित भइयो कि के हो ?’

चौरजहारी नगरपालिकाका रुकुम पश्चिमका प्रमुख पुष्प वादीले खगेन्द्र सुनार रास्वपामा प्रवेश गरेपछि ब्यङ्ग्यात्माक शैलीमा उनको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘अभियन्ताले पार्टी खोलेका थिए रे, बन्द गरेर प्रवेश गरेछन् त ।’

यद्यपि, खगेन्द्र सुनार पक्षधरहरूले भने रास्वपाभित्र रहेर दलित अधिकारका मुद्दा अझ प्रभावकारी रूपमा उठाउन सकिने दाबी गरेका छन्। उनीहरूको तर्क छ कि संसद र राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति बिना दलित सवाललाई नीतिगत तहमा पुर्याउन कठिन हुन्छ।
यस विषयमा खगेन्द्र सुनारले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरिसकेका छैनन्। रास्वपाले पनि दलित प्रतिनिधित्वलाई समावेशी बनाउने नीति अनुरूप सुनारलाई केन्द्रीय सदस्य बनाइएको बताउँदै आएको छ।
दलित राजनीति, प्रतिनिधित्व र पार्टीगत एकीकरणको यो विषयले आगामी दिनमा थप बहस र राजनीतिक तरंग सिर्जना गर्ने देखिएको छ।
