काठमाडौं । नेपालका छ वटा कम्युनिष्ट पार्टीसँग आबद्ध किसान संगठनहरूले बोलिभारियन गणतन्त्र भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा विरोध गरेका छन् । उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको घोर उल्लङ्घन भएको बताएका छन् ।
विज्ञप्तिमा संवैधानिक रूपमा निर्वाचित भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको गैरकानुनी र अनैतिक अपहरण गरिएको आरोप लगाउँदै यसको तीव्र निन्दा र भर्त्सना गरिएको छ ।
अमेरिकी साम्राज्यवादले स्वतन्त्र र सार्वभौम राष्ट्रहरूलाई आफ्नो प्रभुत्वमा झुकाउने, प्राकृतिक स्रोतहरूको लुट गर्ने र समाजवादी क्रान्तिलाई ध्वस्त पार्ने दीर्घकालीन षड्यन्त्र अन्तर्गत भेनेजुएलामाथि आक्रमण गरेको उनीहरूको ठहर छ ।
किसान संगठनहरूले किसान, मजदुर, आदिवासी तथा उत्पीडित समुदायको आकांक्षामा आधारित बोलिभियाली क्रान्ति विश्वका शोषित र श्रमजीवी जनताका लागि आशा र प्रतिरोधको प्रतीक बनेको उल्लेख गरेका छन् ।
विगतमा आर्थिक नाकाबन्दी, राजनीतिक हिंसा र भाडाका सैनिक प्रयोगजस्ता हत्कण्डाबाट पनि भेनेजुएलालाई कमजोर बनाउन खोजिएको तर जनताले ती सबै प्रयास असफल बनाएको विज्ञप्तिमा जनाइएको छ ।
नेपालका किसानहरू स्वयं सामन्ती शोषण, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादी हस्तक्षेपबाट पीडित रहेको उल्लेख गर्दै संगठनहरूले भेनेजुएलामाथिको आक्रमणलाई विश्व श्रमिक वर्ग र किसानमाथिको आक्रमणका रूपमा लिएको बताएका छन् ।
संयुक्त विज्ञप्तिमार्फत उनीहरूले राष्ट्रपति मादुरोको तुरुन्त र बिना शर्त रिहाइ, भेनेजुएलामाथि गरिएको सबै प्रकारका सैन्य, राजनीतिक र आर्थिक आक्रमणको अन्त्य, एकपक्षीय प्रतिबन्ध तथा नाकाबन्दी खारेज गर्न माग गरेका छन् । साथै, यस आक्रमणका योजनाकार र अपराधीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा जवाफदेही बनाउनुपर्ने माग पनि अघि सारिएको छ ।
किसान संगठनहरूले विश्वभरका साम्राज्यवादविरोधी, समाजवादी र प्रगतिशील शक्तिहरूलाई अमेरिकी साम्राज्यवादविरुद्ध एकजुट हुन र भेनेजुएली जनता तथा उनीहरूको संवैधानिक सरकारको समर्थन गर्न आह्वान गरेका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), क्रान्तिकारी किसान महासंघ नेपाल, अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले उक्त आक्रमणको बिरोध गरेका हुन् ।