काठमाडौं । भदौ २३-२४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि औपचारिक पत्र पठाएको छ। आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार ओलीको निवास ललितपुरको गुन्डु पुगेर पत्र बुझाइएको हो।
आयोगले पठाएको पत्रमा भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका आन्दोलन, त्यस क्रममा भएका हिंसा, सुरक्षाकर्मीको भूमिका, सरकारका निर्णय प्रक्रिया र त्यसमा तत्कालीन प्रधानमन्त्रीका हैसियतले ओलीको भूमिका सम्बन्धी विषयमा स्पष्टिकरण माग गरिएको छ।
आयोगले घटनाको पृष्ठभूमि, आदेश-निर्देशनको शृङ्खला र सुरक्षा परिचालनसम्बन्धी निर्णयबारे विस्तृत रूपमा बुझ्न चाहेको पत्रमा उल्लेख गरिएको छ।
आयोग स्रोतका अनुसार पत्रमा ओलीलाई आयोगसमक्ष उपस्थित भई बयान दिन आग्रह गरिएको छ। यद्यपि बयानका लागि तोकिएको मिति र समय भने सार्वजनिक गरिएको छैन।
आयोगले तोकिएको समयसीमाभित्र प्रतिवेदन तयार गर्नुपर्ने भएकाले आवश्यक सबै सरोकारवालासँग बयान लिने प्रक्रिया तीव्र पारिएको जनाएको छ।
विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारअनुसार ओलीले आयोगको गठन र वैधानिकतामाथि प्रश्न उठाउँदै आएका छन्।
भदौ २३-२४ गतेको घटनामा आन्दोलनका क्रममा हिंसा भड्किँदा मानविय तथा भौतिक क्षति भएको थियो। ती घटनामा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लागेपछि सरकारको सिफारिसमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको हो। आयोगले यसअघि अन्य पूर्वप्रधानमन्त्री र सम्बन्धित अधिकारीहरूलाई पनि बयानका लागि बोलाउने तयारी गरिरहेको जनाएको छ।