
तस्बिरः रासस
खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन्।
आफ्नो जमिनमा फलेको अन्नले ६ महिना पनि खान पुग्दैन। धेरै वर्षदेखि सालको पात टिप्ने गरेको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि उनी चिन्तित छिन्।
नरकुमारीकी ११ वर्षीया छोरी भावना कक्षा सात, आठ वर्षका छोरा सोनाम कक्षा पाँच र पाँच वर्षीया छोरा विवेक कक्षा दुईमा पढ्छन्। भावना र सोनाम सोही नगरपालिकाको वडा नम्बर ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे र विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन्।
पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि दैनिक गुजाराको माध्यम नै तत्कालका लागि आगोले सखाप पारेको नरकुमारीले बताइन्। ‘एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो। दिक्तेल बजारमा सालको पात प्रतिमुठा रु ५० मा बिक्री हुन्छ। अहिले डढेलोले जङ्गल सखाप पार्यो,’ उनले भनिन्, ‘सालको पातले दैनिक घर खर्च र छोराछोरीको पढाइ खर्च धान्ने गरेकी थिएँ। डढेलोले जङ्गल सखाप भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता छ। गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ।’
त्यसो त रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आएकी नरकुमारीको परिवारमा एकपछि अर्को समस्यामा पर्दै आएको छ। कान्छा छोरा विवेक जन्मिँदै मुटु रोगी जन्मिए। विसं २०७५ भदौ १८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन्।
गङ्गालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइरहेका कान्छा छोरा चिकित्सकको निगरानीमा राखिएको छ। छोराको स्वास्थ्य अहिले सामान्य बन्दै गएको छ।
सुरुमा छोरालाई ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएको थियो। उपचारमा अस्पतालले रु सात लाख ५० हजार लियो। ‘जन्मिएको दुई दिनमा रु दुई सय लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ। अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्दको सुन धितो राखेर काठमाडौँ लग्यौँ, उपचारमा रु १६ लाख सकियो,’ उनले भनिन्, ‘काठमाडौँको तीन/चार वटा अस्पताल डुलाउँदा रु १६ लाख सकियो। घरमा एक रुपैयाँ थिएन। सबै ऋण काढेर उपचार गर्यौँ, छोरा अलि ठिक भएपछि घर फर्कायौँ।’
छोराको उपचारमा खर्च भएको ऋण तिर्न नसकेपछि साहुले घरको पशुचौपाय लग्यो। ऋण तिर्न विदेश गएका श्रीमान् दुर्घटनामा परी उतै घाइते भए। घरमुली नै विदेशमा घाइते भएपछि परिवारको बिल्लीबाठ भएको छ।
‘कमाउन विदेश जानुभएका श्रीमान् बिरामी हुनुहुन्छ। कलकलाउँदा उमेरका तीन छोराछोरी छन्। अहिले त सानो बाबु पनि ठिक हुँदैछ,’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न धौ-धौ छ। सालको पात टिपेर बेच्दै थिएँ त्यो पनि डढेलोले केही महिनालाई नपाइने भयो।’
छोराछोरीको पठनपाठन कसरी गराउने भन्ने चिन्ताले उहाँलाई रातभर निन्द्रा लाग्दैन। कसैले सहयोग गरे पढाउन सकिन्थ्यो कि भन्ने आशा छ। कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगारसम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले रु ५० हजार आर्थिक सहयोग गरेको छ।
रासस