काठमाडौं । विवादास्पद पूर्वउर्जा मन्त्री दिपक खड्का अमेरिका भागेको भन्ने व्यापाक चर्चा छ । तर, उनी निकट स्रोतले भने खड्का नेपाल भित्रै रहेको बताएको छ । ‘उहाँ परिवारसहित अमेरिका भाग्यो भन्ने हल्ला गलत हो । उहाँ केहीदिन अघि मात्रै विराटनगरबाट काठमाडौं आउनु भएको छ,’ उनी निकट एक व्यक्तिले भने,‘आफू बसेको घर समेत जलेका कारण सानो बच्चाको सुरक्षाका लागि उहाँ कतै हुनुहुन्छ ।’
पदमा हुँदा तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हाल उर्जामन्त्री कुलमान घिसिङसँग प्रतिशोध लिएका कारण विवादमा आएका खड्का अख्तियारदेखि सीआईबी र सम्पत्ति सुद्धिकरणको समेत अनुसन्धानमा छन् । भदौ २३ गते जेनजी पुस्ताका युवामाथि १९ जनाको ज्यान जानेगरि भएको चरम दमन पछि २४ गते भएको विद्रोहले खड्कासहितको सरकारलाई विस्थापन गरिदिएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका अति विश्वास पात्र रहेका खड्काले जागदुल्ला जलविद्युत परियोजनामा चेक लेनदेन गरेर चलेखेल गरेको भन्दै अख्तियारले छानबीन गरिरहेको छ ।
त्यस्तै नेपाल स्काउटको ७ रोपनी जग्गा हिनामिना गरेको अभियोगमा उनीमाथि सीआइबीले छानबीन गरिरहेको छ । सीआइबीले खड्का विरुद्ध पक्राउ पुर्जी जारी गरेको हल्लापछि उनी एकाएक लुकेको बताइन्छ । उनी प्रत्यक्ष नजोडिएपछि उनको नाममा विगत सरकारमा हुँदा भएको लेनदेन उठाउने कार्यमा अर्का एक व्यक्ति सक्रिय छन् । स्रोतका अनुसार यसरी खड्काको मान्छे हुँ भन्दै रामेछाप घर भएका कांग्रेस कार्यकर्ता दिपेन्द्र खड्काले विभिन्न व्यक्तिहरुलाई उठ्तीपुठ्तीको काम गरिरहेका छन् ।
९८५१००….४३ बाट विभिन्न व्यक्तिहरुलाई फोन गर्ने र रकम माग्ने काम गरिरहेको स्रोतको भनाई छ । ‘मन्त्री पदमा रहँदा उहाँले विभिन्न व्यक्तिको काम गरिदिनु भएको छ । भएको कामको रकम माग्ने काममा यो नम्बर प्रयोग भएको छ,’ स्रोत भन्छ,‘यो नम्बरमा सीआइबीले अनुसन्धान गरे धेरै तथ्य भेटिन्छ ।’
अर्बपति मन्त्री खड्काको घरमा जेनजी आन्दोलनको क्रममा लाखौँ रकम जलेर नष्ट भएको थियो । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले जलेको नोटबारे अनुसन्धान गरिरहेको छ । ‘खड्काजीले भूमिगत गिरोहमार्फत पुराना कारोबारको धन्दा गरिरहेका छन्,’ स्रोतले भन्यो,‘यो समुहमा अन्य सदस्यहरु समेत छन् । जलविद्युत कम्पनिहरुलाई फोन गरेर रकम माग भइरहेको छ ।’
प्रतिक्रियाका लागि खड्काको नम्बरमा पटक पटक सम्पर्क गर्दा उनको फोन स्विच्ड अफ छ ।