काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि भारतीय सरकारले मंगलबार कृत्रिम वर्षा ‘क्लाउड सिडिङ’ गर्ने प्रयास गरेको छ । दिल्लीमा वायु प्रदुषण बढेपछि हावा सफा बनाउन ‘क्लाउड सिडिङ’ गर्न लागिएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो अभियान भारतीय प्राविधिक संस्था (आइआइटी) कानपुरका वैज्ञानिकहरूको टोलीले सञ्चालन गरेको हुन् । उनीहरूले सानो विमानमार्फत दिल्लीको उत्तरी क्षेत्रका बादलमाथि सिल्भर आयोडाइड र सोडियम क्लोराइडजस्ता रासायनिक पदार्थ छरेका छन् । जसले कृत्रिम रूपमा वर्षा गराउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
मंगलबार दिउँसो १२ः३० बजे सुरु हुने भनिएको क्लाउड सिडिङ दृश्यता कम भएका कारण केही ढिलो सुरु भएको थियो । दिल्लीका वातावरण मन्त्री मन्जिन्दर सिंह सिरसाले भने, ‘यदि यो प्रयास सफल भयो भने प्रदूषणमा उल्लेखनीय सुधार आउनेछ । गत साताको परीक्षण उडानमा पनि उत्तरी दिल्लीमा रासायनिक पदार्थ प्रयोग गरिएको थियो, तर हावामा पर्याप्त ओस नभएकाले वर्षा हुन सकेको थिएन,’ उनले बताए ।
यस परियोजनालाई भारतीय मौसम विभाग र दिल्ली सरकारको वातावरण विभागले स्वीकृति दिएको छ । यो पहिलो पटक दिल्लीमा पूर्ण रूपमा कृत्रिम वर्षा गराउने प्रयास हो ।
दिपावलीको समयमा पटाकाका कारण प्रदूषण झनै बढेको र छिमेकी राज्यहरूमा पराल जलाउने क्रम जारी रहेकाले दिल्लीको वायु गुणस्तर बिग्रेको छ । मंगलबार बिहान शहर बाक्लो धुवाँ र कुहिरोले ढाकिएको थियो ।
अध्ययनहरूका अनुसार दिल्लीको प्रदूषणले त्यहाँका नागरिकको औसत आयु करिब ११.९ वर्षले घटाएको छ । अमेरिकाको शिकागो विश्वविद्यालय अन्तर्गत ऊर्जा नीति संस्थान (EPI) ले जारी गरेको प्रतिवेदनमा दिल्लीको वायु गुणस्तर विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डभन्दा निकै तल रहेको उल्लेख छ ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका तथ्यांकअनुसार मंगलबार बिहान ८ बजे दिल्लीको वायु गुणस्तर सूचकांक (AQU) ३०६ पुगेको थियो, जुन ‘अति खराब’ श्रेणीमा पर्छ । शहरका ३८ निगरानी केन्द्रमध्ये २७ वटामा यस्तै मापन गरिएको थियो ।
उदाहरणका लागि, अनन्द विहारमा (AQU) ३२१, आरके पुरममा ३२०, सीरी फोर्टमा ३५०, बुरारी क्रसिङमा ३२६, द्वारका सेक्टर ८ मा ३१६, र पन्जाबी बागमा ३२३ मापन गरिएको थियो ।
दिल्ली सरकारले प्रदूषण घटाउन गत सेप्टेम्बर २५ मा आइआइटी कानपुरसँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार पाँचवटा कृत्रिम वर्षा परीक्षण गर्ने योजना बनाइएको छ, जसका सबै उडानहरू दिल्लीको उत्तर-पश्चिम क्षेत्रका लागि तय गरिएका छन् ।
नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले आइआइटी कानपुरलाई अक्टोबर १ देखि नोभेम्बर ३० सम्म कुनै पनि समयमा परीक्षण गर्न अनुमति दिएको छ । यसअघि दिल्ली मन्त्रिपरिषद्ले करिब ३ करोड २१ लाख रुपैयाँ लागतमा पाँचवटा क्लाउड सिडिङ परीक्षण स्वीकृत गरेको थियो ।
तर बारम्बारको प्रतिकूल मौसमका कारण यो प्रयास पटक–पटक स्थगित हुँदै आएको छ । प्रारम्भिक रूपमा मे, जुन, अगस्ट र सेप्टेम्बरमा तय गरिएको परीक्षण अन्ततः अक्टोबरको दोस्रो सातासम्म सारिएको थियो ।