काठमाडौं । मनाङ जिल्लामा परेको लगातार हिमपातका कारण तिलिचो बेस क्याम्पमा अलपत्र परेका सयौं पर्यटकको सफलतापूर्वक उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले उनीहरुलाई सुरक्षित रूपमा उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गएरातिदेखि फसेका करिब ७५० जना पर्यटकलाई सुरक्षित रूपमा उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार पुर्याइएको छ ।
थापाका अनुसार अझै करिब ५० जना पर्यटकलाई तिलिचो बेस क्याम्पमै सुरक्षित अवस्थामा राखिएको छ । खाङसारमा बसोबासको असुविधा भएका पर्यटकलाई सुरक्षित स्थानतर्फ फर्काउने व्यवस्था मिलाइएको जनाइएको छ ।
यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागी बेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म पुर्याएको छ ।
सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना र उच्च भूभाग खोज तथा उद्धार तालिम सञ्चालन भएपछि यस्ता हिमपातजन्य विपद्मा उद्धार कार्य सहज र प्रभावकारी बनेको जनाइएको छ ।