पाटन अस्पतालले भूमिगत पार्किङ भाडामा लगाएपछि विवाद, नागरिक समाजको विरोध

दियोपोस्ट संवाददाता  

काठमाडौं । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सस्था संचालन सम्बन्धी मापदण्ड २०७७ अनुसार सरकारी तथा निजि अस्पतालहरुले पार्किङ शुल्क उठाउन पाउँदैनन् । यसरी गैरकानुनी रुपमा शुल्क उठाएको थाहा पाएपछि आजभन्दा २ वर्षअघि नै अर्थात २०८० वैशाख ३ गते मन्त्रालयले सबै सरकारी निजि, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई परिपत्र गर्दै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको थियो । तर, सरकारी स्वामित्वकै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा ललितपुरको लगनखेलमा सञ्चालित पाटन अस्पतालले भने भूमिगत पार्किङको शुल्क उठाउने ठेक्का लगाएको पाइएको छ ।

गत असोज २८ गते गोरखापत्र राष्ट्रिय दैनिकमा सुचना प्रकाशन गर्दै प्रतिष्ठानले अस्पताल परिसरमा रहेको भूमिगत पार्किङ क्षेत्र भाडामा दिने बोलपत्र आह्वान गरेको हो ।

आगामी मंसिर २७ गते मध्यान्ह १२ बजे भित्र सम्पूर्ण बोलपत्रदाताले बोलपत्रको आशय पेश गर्नुपर्ने शर्त छ । यता ललितपुरको सरोकारवालाहरुले भने यो विषयमा उजुरी गरेका छन् । ललितपुरका नागरिक समाजका अगुवाहरु सवीर नकर्मी, पृथविन्दु महर्जन, पवन शाही, नरेश शाही लगायतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उजुरी गरेका छन् ।

उनीहरुले अस्पतालमा आउने विरामी, विरामी कुरुवा लगायतलाई निशुल्क व्यवस्थापन गर्न अपिल समेत गरेका छन् । ‘देशको विभिन्न स्थानबाट उपचार गर्नका निम्ति जेजस्तो दुख गरी उपचार गर्न आउने विरामी, विरामी कुरुवा लगायतबाट पुन पार्किङस्थल भाडा कसुली गर्ने कार्य कानुनी र नैतिकहिसाबले पनि मान्य हुने कार्य होइन,’ उजुरीमा भनिएको छ ।

 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसअघि पनि पार्किङ शुल्क लिएको भन्दै ललितपुरका नागरिक समाजले विरोध गरेका थिए ।
पार्किङ शुल्कबारे बुझ्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालयमा सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

prabhu bank Add