काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गा लिजसम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा नेपाल ट्रष्टको कार्यालय भरतपुरका पूर्व सहसचिव लेख बहादुर कार्की पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक मुद्धामा शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाल ट्रष्टको नाममा दर्ता रहेको जग्गा तीन वर्षका लागि निर्माण अनुमति रहने शर्तमा ३० वर्षका लागि लिजमा दिइएकाले संस्थालाई दीर्घकालीन आर्थिक हानी पुगेको भनदै मुद्धा दायर गरिएको थियो । सो क्रममा कार्की लगायत संलग्न अधिकारी र पदाधिकारीहरूले गैरकानूनी लाभ लिएको अनुसन्धानबाट खुलेको छ।
नेपाल ट्रष्ट र थामसेर्कु ट्रेकिङ प्रा.लि.बीच भएको लिज सम्झौतामा सूचनामा उल्लेखित कित्ता नं. ४६०६ बाहेक अतिरिक्त कित्ता नं. ४६०५ समेत बिना निर्णय र कानूनी आधार लिजमा दिएको पाइएपछि उक्त कार्यलाई वदनियतपूर्वक गरिएको ठहर गरिएको थियो।
पक्राउ परेका कार्कीमाथि ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका कार्की चितवन जिल्ला, भरतपुर महानगरपालिका–१५ का स्थायी निवासी हुन् ।