आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस : ५ करोडभन्दा बढी मानिस आधुनिक दासत्वको जोखिममा

दियोपोस्ट संवाददाता  

काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वभर मनाइँदैछ। सन् १९४९ डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघले मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघको पहलमा सन् २००७ देखि मनाउन थालिएको यो दिवस ऐतिहासिक ‘ट्रान्सएटलान्टिक’ दास व्यापारका पीडित लाखौँ मानिसप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने उद्देश्यले सुरुवात गरिएको थियो । यस दिवसले मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा संलग्न गराउनेजस्ता आधुनिक दासत्वका रूपबारे जनचेतना फैलाउन विशेष महत्व राखेको बताइन्छ ।

दिवसको अवधारणा संयुक्त अधिराज्यले सन् १८०७ मा पारित गरेको ‘दास व्यापार उन्मूलन ऐनसँग सम्बन्धित छ । जसले कुनै व्यक्तिलाई दासका रूपमा बेचबिखन, स्थानान्तरण वा प्रयोग गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरेको थियो ।

औद्योगिक क्रान्तिको सुरुआतसँगै अफ्रिकी मुलुकहरूबाट लाखौँ मानिसलाई श्रम शोषणका लागि अमेरिकालगायत विकसित देशहरूमा दासका रूपमा लैजान थालिएको पृष्ठभूमिमा उक्त ऐन ऐतिहासिक मानिन्छ।

यद्यपि दासत्व इतिहासकै गम्भीर सामाजिक कलंक मानिए पनि यसको प्रभाव आधुनिक समाजमा अझै विद्यमान छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार विश्वभर करिब ५ करोड मानिस विभिन्न रूपले आधुनिक दासत्वको सिकार भएका छन्।

मानव तस्करी, जबर्जस्ती बालश्रम, ऋण बन्धन, घरेलु तथा औद्योगिक शोषणजस्ता रूपले दासत्व नयाँ स्वरूपमा कायम रहेको देखिन्छ।

राष्ट्रसंघको तथ्याङ्कअनुसार हाल विश्वभर झन्डै पाँच करोड मानिस आधुनिक दासत्वको जोखिममा छन् । जसमा महिला तथा बालबालिकाको संख्या बढी छ।

गरिबी, जातीय विभेद, सामाजिक बहिष्कार र संरचनात्मक असमानताका कारण धेरै समुदाय अझै पनि शोषणको उच्च जोखिममा रहेका छन्। घरेलु काम, कृषि, निर्माण, वस्त्र उद्योग तथा यौन क्षेत्रजस्ता क्षेत्रमा विशेषगरी प्रवासी तथा असुरक्षित अवस्थाका श्रमिकहरू आर्थिक र सामाजिक शोषणको चपेटामा पर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

यस दिवसले दासत्वविरुद्धको ऐतिहासिक संघर्षलाई स्मरण गर्दै आजका श्रमिकको सम्मान, अधिकार संरक्षण र सुरक्षित रोजगारीका पक्षमा आवाज उठाउने अवसर प्रदान गरेको छ । विश्वभर सबैलाई ससम्मान र उचित पारिश्रमिकसहित काम गर्ने अधिकार सुनिश्चित गर्न यस्तो दिवस महत्त्वपूर्ण मानिन्छ।

यस अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा विशेष कार्यक्रम आयोजित छ, जहाँ नोबेल पुरस्कार विजेता ओल सोइन्काले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। दिवसले मानव स्वतन्त्रता, सम्मान र न्यायप्रति समर्पित हुन सबैलाई प्रेरित गर्ने अपेक्षा राखिएको छ।

ट्रेन्डिङ