कास्की । कास्की प्रहरीले एक व्यावसायीलाई सेटिङमा पक्राउ गरेको छ । पोखरामा वाइ यु के नामक निर्माण कम्पनि मार्फत व्यावसाय गर्दै आएका व्यावसायी युवराज खतिवडालाई वडा प्रहरी कार्यालय बैदामले माथिको आदेश छ भन्दै पक्राउ गरेर हिरासतमा राखेको हो ।
वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नवराज भट्टराईले खतिवडा विरुद्ध जाहेरी उजुरी नै नपरेपनि प्रहरीको आदेश उलंघन गरेको अभियोगमा पक्राउ गरेको बताए । जबकी प्रहरी कसैलाई पनि आदेश दिने न्यायिक निकाय होइन । अदालतले पक्राउ पुर्जी जारि गरेको वा जघन्य अपराधको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्नुपर्ने प्रहरीले निर्माणको काम गर्ने निर्माण व्यावसायीलाई झूटो मुद्दामा पक्राउ गरेको हो ।
सोमबार स्थानिय प्रदेश सांसद समेत रहेका प्रकाश केसीले आफ्नो जग्गामा माटो पुरिदिन भन्दै पारिश्रमिक समेत दिएर माटो सम्याउन पुगेका उनलाई वडा प्रहरी कार्यालयले माथिको आदेश छ भन्दै पक्राउ गरेको हो ।
स्रोतका अनुसार खतिवडालाई केही दिन अघि माओवादी निकट केही व्यक्तिहरुले माटो पुर्ने ठेक्कामा ५० प्रतिशत बागबण्डा माग गरेका थिए । तर, उनले आफूले बैंकबाट ऋण लिएर टिफर, डोजर र स्क्याभेटर लगायतमा लगानी गरेको आफूले गर्ने काममा कसैलाई पनि भागबण्डा नदिने बताएपछि सो समुहले खतिवडालाई पक्राउ गरेर थुनाउने धम्की दिएका थिए । कास्की प्रहरीले कुनै जाहेरी वा उजुरी बिनै उनलाई सोमबार थुनामा राखेपछि सो गिरोहको सुनियोजित योजनामा प्रहरी शक्ति दुरुपयोग भएको आशंकालाई पुष्टि गरेको छ ।
डिएसपी भट्टराईले खतिवडाले प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरेको समेत बताए । तर, प्रत्यक्षदर्शीका अनुसार वैदाम प्रहरीको ईन्सपेक्टरको नेतृत्वमा उनलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनी आफ्नै गाडीमा प्रहरी कार्यालय पुगेका थिए । छलफलका लागि भनेर बोलाएपछि उनी आफै पुगेपछि प्रहरीले अभद्र व्यवहारको झूटो मुद्दा लगाएको छ । जरुरी पक्राउ पुर्जी दिएर उनलाई थुनामा राखिएको छ ।
उनीमाथि पोखराका विभिन्न व्यक्तिले करारमा आफ्नो जग्गा सम्याउनकालागि माटो पुर्ने ठेक्का लिएको अभियोग छ । जबकी यो अभियोग भए कसैले उजुरी वा जाहेरी दिनुपर्ने हुन्छ । स्थानिय निकायको स्विकृति बिना नै खाली जग्गा सम्याएको अभियोगमा समेत उनलाई पक्राउ गरिएको बताएका डिएसपी भट्टराईले जरुरी पक्राउ पुर्जीमा भने अभद्र व्यवहारको लगाएका छन् ।
कास्कीको वडा प्रहरी कार्यालय वैदामका कार्यालय प्रमुख बनेर आउने डिएसपीहरु पटक पटक विवादमा आउने गरेका छन् । यसअघि डिएसपी राजेन्द्र श्रेष्ठले मदिरा खाएर प्रहरीकै गाडी चौतारामा ठोकाउने, क्लबहरुबाट अवैध असुली गर्ने लगायतको विववादित गतिविधि गरेपछि छोटो समयमै तानिएका थिए ।
सुशासनको प्रमुख एजेण्डासहित भदौ २३ मा भएको जेनजी आन्दोलन पछि भदौ २४ मा भएको विध्वंशमा सबैभन्दा धेरै क्षेति प्रहरी कार्यालयमा भएका थिए । प्रहरीकै कर्मचारीमाथि सबैभन्दा बढी आक्रमण समेत भएका थिए । तर, प्रहरीको व्यवहारमा भने कुनै तात्विक फरक आएको छैन । प्रहरीको आचरणगत सुधारको पक्षमा भाषण गरिरहेका प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई समेत पोखराको यो घटनाले विवादमा ल्याउने निश्चित छ ।