काठमाडौैं । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल घुम्न आउने पदयात्री पर्यटकको उद्दारपछि हुने फर्जी बिमा रकम भुक्तानीमा हुने ठगी घटनाबारे अनुसन्धान शुरु गरेको छ । सीआइबीका प्रमुख एआइजी डा. मनोज केसीका अनुसार पुराना र तामेलीमा राखिएका सबै फाइल अनुसन्धानका क्रममा यो फाइलमाथि समेत अनुसन्धान शुरु भएको हो ।
सीआइबी स्रोतका अनुसार विभिन्न ६ कम्पनिको ल्याप्टप र कागजात नियन्त्रणमा लिइएको छ । सीआइबीका प्रवक्ता समेत रहेका एसएसपी शिव कुमार श्रेष्ठको नेतृत्वमा रहेको विशिष्ट अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ । सीआइबी स्रोतका अनुसार श्रीद्धि अस्पताल, ईरा अस्पताल एण्ड क्लिनिक, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिसटेन्स, नेपाल चार्टर सर्भिस, माउन्टेन रेस्क्यु सर्भिस र स्वकन अन्तर्राष्ट्रिय अस्पतालका कागजात सीआइबीले नियन्त्रणमा लिएको छ ।
यसअघि पर्यटन मन्त्रालयका तत्कालिन सहसचिव हाल अर्थमन्त्रालयका सचिव घनश्याम उपाध्यायको नेतृत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा कारबाही गर्नुपर्ने भनि किटान भएका कम्पनिमाथि पनि सीआइबीले अनुसन्धान थालेको छ । हाल सीआइबीले छापा हानेर कागजात र ल्याप्टप नियन्त्रणमा लिएका केही कम्पनि भने त्यतिबेला छानबीनको दायरामा नआएका कम्पनिहरु हुन् ।
सीआइबी स्रोतका अनुसार विदेशस्थित विदेशी विमा कम्पनिसँग पनि कागजात माग्ने लगायतका काम समेत भइरहेका छन् । यद्धपी विदेशी विमा कम्पनिहरुले भने नेपालको अनुसन्धान प्रक्रियामाथि विश्वास नगर्ने र गोपनीयताका कारण अनुसन्धानमा असहयोग गर्ने संभावना छ । सीआइबीले नर्भिक अस्पताल, मेडिसिटि अस्पताल, सिवेक क्लिनिक र बयोधा अस्पतालमाथि भने अनुसन्धान गरिएको छैन । यी अस्पतालले पनि नेपाल घुम्न आउने पदयात्री पर्यटकको बिमा भुक्तानीका लागि महँगो शुल्क असुली गर्दै आएका छन् ।
सीआइबीले साना कम्पनिलाई मात्रै छापा मारेर ठूला कम्पनिलाई भने उन्मुक्ति दिएको आरोप समेत पर्यटन क्षेत्रकै व्यक्तिहरुले लगाउन थालेका छन् ।