रवि र बालेनबीच कुमार बेनको घरमा उच्चस्तरीय बैठक, बाबुराम भट्टराई पनि सहभागी

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ। ललितपुरस्थित कुमार बेनको निवासमा भएको बैठकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत उपस्थित रहेको स्रोतले जनाएको छ।

बैठक केही घण्टा चलेको बताइए पनि छलफलका विषयबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। सहभागी पक्षबाट कुनै संयुक्त वक्तव्यसमेत जारी गरिएको छैन।

स्रोतका अनुसार बैठकमा आगामी राजनीतिक गतिविधि, समसामयिक राष्ट्रिय राजनीति र सम्भावित सहकार्यका विषयमा कुराकानी भएको थियो। विशेषगरी वर्तमान राजनीतिक अवस्थाबारे सहभागीहरूले आ-आफ्ना धारणा राखेका थिए।

बैठकमा कुनै औपचारिक सहमति, गठबन्धन वा निर्णय नभएको स्रोतको भनाई छ । प्रधानमन्त्री पद, पार्टी गठन वा चुनावी तालमेलका विषयमा पनि कुनै ठोस निर्णय नभएको स्रोतले जनाएको छ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै रवि लामिछानेले भने, ‘भेटवार्ता भएको हो। छलफल सकारात्मक भयो।’ बालेन शाह र डा. बाबुराम भट्टराईले भने यसबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

राजनीतिक विश्लेषकहरुले उक्त भेटलाई उच्चस्तरीय राजनीतिक संवादका रूपमा उल्लेख गरेका छन्। बैठक बसेको घरका धनी कुमार बेन (कुमार व्यञ्जनकार) महानगर प्रमुख बालेन शाहका निकट सहयोगीका रूपमा चिनिन्छन्। बालेन शाहसँग सम्बन्धित विभिन्न भेटघाट र छलफलहरूमा उनी संयोजकको भूमिकामा देखिँदै आएका छन्।

रवि र बालेनबीचको बैठकमा डा. बाबुराम भट्टराईको सहभागितालाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।