मुटुका भल्व फेरेका विरामीको जीवनमाथि डिआइजी आचार्यको खेलवाड, जबरजस्ती डिस्चार्ज !

दियोपोस्ट संवाददाता  

काठमाडौं । कास्की प्रहरीले अभद्र व्यवहारको झूटो मुद्दामा पक्राउ गरि हिरासतमा राखिएका व्यावसायी युवराज खतिवडाको जीवनमाथि समेत खेलवाड गरेको पाइएको छ । मुटुको अपरेशन गरि नियमित औषधी सेवन गरिरहेका खतिवडालाई नियमित उपचारका लागि कास्कीस्थित फिस्टेल अस्पतालमा राखिएको थियो । तर, विहिबार विहानै डिआइजी दिनेश कुमार आचार्यको निर्देशनमा जबरजस्ती डिस्चार्ज गर्नु भन्ने आदेश आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

 

अस्पताल स्रोतका अनुसार कास्की प्रहरीका एसपी नविन कार्कीले अस्पतालका उच्च अधिकारीलाई फोन गरेर अस्पताललाई समेत कारबाही गर्ने धम्की दिएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो । अस्पतालका कागजात अनुसार उनका नियमित डाक्टर विश्वराज बराल हुन् । तर, विहिबार विहान डिस्चार्ज गर्नका लागि भने प्रहरीकै दबावमा डा. माधव पराजुलीलाई खटाइएको छ । ‘विहानै उहाँलाई नियमित परिक्षण गरिरहेका डाक्टरलाई समेत त्यहाँबाट हटाएर अर्कै डाक्टर ल्याएर डिस्चार्ज गरियो,’ अस्पताल स्रोतले दियोपोस्टसँग भन्यो,‘प्रहरीले नै जबरजस्ती गरेपछि विरामीलाई यहाँबाट पठाउनु परेको हो ।’

वडा प्रहरी कार्यालय वैदामले हिजो बुधबारको मितिमा अस्पताललाई पत्राचार गरि के कति कारणले अस्पताल राखिएको भन्दै जवाफ माग गरेको छ । तर, अस्पतालले जवाफ समेत नपठाउँदै खतिवडालाई डिस्चार्ज गरिएको हो ।

 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले डाक्टरको सिफारिस बिना विरामीको डिस्चार्ज नहुने बताए । यद्धपी हिरासत अवधि कटाउन अस्पताल बसेर समय कटाउने गलत अभ्यास पनि भएका कारण यस्तो भएको हुन सक्ने उनको भनाई छ । यद्धपी यो विषयमा आफूले सम्बन्धित निकायमा बुझेर मात्रै भन्न सक्ने उनको भनाई छ । मानव अधिकार आयोगकी सदस्य लिली थापालाई सम्पर्क गर्दा उनले यस विषयमा गण्डकी प्रदेश मानव अधिकार आयोगसँग आफूले बुझ्ने बताइन् ।

यता गण्डकी प्रदेश मानव अधिकार आयोगका सहसचिव नितु गर्तौलालाई सम्पर्क गदा उनले भने आफूले अस्पतालको सुचना अधिकारीसँग सम्पर्क गर्दा डिस्चार्ज नगरिएको भन्ने जानकारी आएको तर विदाको दिन भएको हुनाले विरामीको डिस्चार्ज नगरिएको हुन सक्ने बताइन् । यद्धपी आफूले पनि बुझ्ने क्रममै रहेको उनले बताएकी छिन् ।