काठमाडौं । सरकारले नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाउने तयारी गरेको छ। उनको आजै शपथग्रहण तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
शर्मा सुरक्षा, प्रशासन र शान्ति प्रक्रियासँग जोडिएका नेपाली सेनाका पूर्व रथी हुन्। सेनामा लामो समय सेवा गरेका उनले उच्च तहका कमाण्ड तथा प्रशासनिक जिम्मेवारी सम्हालेका थिए। शान्ति प्रक्रियापछि उनी माओवादी लडाकु समायोजन तथा पुनर्संरचना प्रक्रियासँग जोडिएको उच्चस्तरीय संयन्त्रमा आबद्ध भएका थिए।
माओवादी लडाकुहरूको व्यवस्थापन, समायोजन र अवकाश प्रक्रियामा सेनाको तर्फबाट समन्वय गर्ने प्रमुख भूमिकामा उनी देखिएका थिए।
शर्मा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारीमा पनि रहेका थिए। महामारीको कठिन समयमा सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालय र अन्य सरकारी संयन्त्रबीच समन्वय गर्दै नीतिगत तथा कार्यान्वयन तहमा निर्णय प्रक्रिया अघि बढाउने भूमिकामा उनी सक्रिय थिए।
यस भूमिकाले उनको संकट व्यवस्थापन र अन्तर-निकाय समन्वय क्षमतामा उनी अव्बल देखिन्छन् । सरकार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल जारी छ।