काठमाडौं । क्रिसमसको अवसरमा के.एल. दुगर ग्रुपका सदस्यहरूले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयलाई हजार लिटर क्षमताको पानी ट्यांकी रत्यहाँका बालबालिकालाई विभिन्न उपहार वितरण गरेका छन्।
कम्पनीले कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने ६ देखि १६ वर्षका ९ जना बालबालिकालाई उपहार वितरण गरेको बताएको छ । यो कार्यक्रम बालबालिकाका अनुहारमा मुस्कान ल्याउन र उनीहरूको क्रिसमसलाई अझ खुशीमय बनाउने उद्देश्यले आयोजना गरिएको उनीहरुको भनाई छ ।
के.एल. दुगर ग्रुपकी कार्यकारी निर्देशक सृष्टि दुगरले बताइन्, “बालबालिकाको जीवनमा साना क्षणहरूले पनि ठूलो प्रभाव पार्न सक्छ। उनीहरूको अनुहारमा देखिने मुस्कान र खुशीले हामीलाई हाम्रो सामाजिक जिम्मेवारीको महत्त्व झन् स्पष्ट बनाएको छ।”
उपहार वितरणका साथै कम्पनीका प्रतिनिधिहरूले अनाथालयमा बालबालिकासँग रमाइलो समय बिताएका थिए । सँगै खाना खाँदै, रमाइला कुराकानी र विभिन्न गतिविधिहरूले यो दिन अझै स्मरणीय बनाएको थियो।
कम्पनीका अनुसार, यस प्रकारका कार्यक्रम समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने निरन्तर प्रयासको हिस्सा हुन्। सानो पहल भए पनि यसले आवश्यक परेकाहरूको साथमा उभिने दुगर ग्रुपको दीर्घकालीन दृष्टिकोण प्रकट गर्दछ।
के.एल. दुगर ग्रुपले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरू निरन्तर गर्दै हरेक समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
