रास्वपा-बालेन: पार्टी एकता या पार्टी प्रवेश ?

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच पार्टी एकताको चर्चा पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक रूपमा फैलिएको छ । तर बालेन स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित जनप्रतिनिधि भएकाले उनको कुनै राजनीतिक दल छैन । यही कारण, बजारमा चलेको ‘पार्टी एकता’को भाष्य वास्तविकतासँग मेल नखाने देखिएको छ ।

राजनीतिक र कानुनी दृष्टिले हेर्दा, पार्टी एकता भनेको दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूबीच हुने औपचारिक प्रक्रिया हो । बालेनको हकमा यस्तो अवस्था नरहेको हुँदा रास्वपासँग पार्टी एकता सम्भव देखिँदैन । बरु यो बहस पार्टी एकताभन्दा पनि पार्टी प्रवेश वा राजनीतिक सहकार्यको दिशामा केन्द्रित भएको देखिन्छ ।

रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच पछिल्लो समय एकता र सहकार्यका लागि संवाद भइरहेको छ । स्रोतहरूका अनुसार यो संवाद औपचारिक पार्टी एकताभन्दा पनि राजनीतिक सहकार्य र सम्भावित पार्टी प्रवेशमा केन्द्रित छ । रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने क्रममा समान सोँच र छविका व्यक्तित्वहरूसँग सहकार्य गर्न चाहेको संकेत दिँदै आएको छ ।

बालेनले पनि मेयरका रूपमा स्थापित गरेको ‘स्वतन्त्र, सुधारमुखी र प्रणालीविरोधी’ छविका कारण उनलाई रास्वपाले स्थान दिन लागेको बिश्लेषकहरु बताउँछन् । यसरी हेर्दा पनि बालेन रास्वपामा प्रवेश गर्न लागेका हुन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार वैकल्पिक राजनीतिप्रति बढ्दो जनआकर्षण, स्थापित दलहरूप्रति असन्तुष्टि र आगामी चुनावी समीकरणका कारण यस्ता चर्चा चुलिएका हुन् ।

बालेन र रास्वपा दुवैलाई परम्परागत राजनीतिका विकल्पका रूपमा हेर्ने प्रवृत्तिले पनि ‘एकता’को भाष्यलाई मलजल गरिरहेको छ ।

हालको अवस्थालाई हेर्दा रास्वपा र बालेनबीचको संवाद सम्भावित राजनीतिक सहकार्य वा बालेनको पार्टी प्रवेशतर्फ उन्मुख देखिन्छ । अन्तिम निर्णय बालेनको व्यक्तिगत राजनीतिक रोजाइ र रास्वपाको संगठनात्मक रणनीतिमा निर्भर रहने बताइएको छ ।