मुस्कान छर्दै नामी: सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली अटोमोबाइल क्षेत्रको उदयमान ब्रान्ड नामीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले शोरूममा भ्रमण गरेका छन् । बालबालिकालाई नयाँ अनुभवसँग साक्षात्कार गराउँदै उनीहरूको अनुहारमा मुस्कान छर्ने उद्देश्यले यो कार्यक्रम सम्पन्न गरिएको हो।

भ्रमणको सुरुआत नामीको टिमले बालबालिकालाई उनीहरूको आश्रयस्थलबाट आत्मीयता पूर्वक शोरूमसम्म ल्याएर गरेको थियो। त्यसपछि गरिएको गाइडेड शोरूम टुरले बालबालिकालाई सम्मान, अपनत्व र उत्साहको अनुभूति गराएको थियो।

कार्यक्रमभर नामी टिमका सदस्यहरूले बालबालिकासँग घनिष्ठ अन्तरक्रिया गर्दै उनीहरूको अनुभवलाई रमाइलो र सम्झनलायक बनाएका थिए।

बालबालिकाको खुसीलाई अझ प्रगाढ बनाउन नामीले जलपान तथा उपहारको व्यवस्था गरेको थियो। साथै, सान्ताक्लजसँगको रमाइलो भेटले उनीहरूमा थप उमंग र उत्साह भरिदिएको थियो।

सबैजना सँगै बसेर खानपिन गर्दै बिताएका क्षणहरूले सौहार्दपूर्ण वातावरण सिर्जना गर्नुका साथै बालबालिका र नामी टिमबीच आत्मीय सम्बन्ध स्थापित गराएको थियो।

बालबालिकाको हाँसो, मुस्कान र चञ्चलताले शोरूमलाई जीवन्त र ऊर्जाशील बनाएको थियो। यस अवसरका विशेष क्षणहरूलाई सम्झनाका रूपमा सुरक्षित गर्न सामूहिक तस्बिर पनि खिचिएको थियो, जसले खुसी, एकता र ममताको भावनालाई झल्काएको छ।

सानातिना तर स्नेहपूर्ण पहलहरूले बालबालिकाको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्छ भन्ने विश्वास नामीले राख्दै आएको छ। समुदायकेन्द्रित गतिविधिहरूमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धतासहित, भविष्यमा पनि यस्ता अर्थपूर्ण पहलमार्फत समाजमा मुस्कान फैलाउने कार्यलाई नामीले निरन्तरता दिने जनाएको छ।