६० किलो सुन तस्करीमा ‘फरार’ भण्डारीलाई नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा सांसद उठाउने

दियोपोस्ट संवाददाता  

गुल्मी । ६० किलो सुन तस्करीमा मुछिएका एक विवादित पात्रलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको खुलेको छ । गल्मी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवारका लागि अख्तियारले भ्रष्टाचार मुद्दा समेत दायर गरेका र सुनतस्करीमा सीआइबीको फरार सुचीमा रहेका भिमकान्त भण्डारीलाई सिफारिस गरेको हो । विद्युतिय सिगरेट भेप मार्फत त्रिभुवन विमानस्थलबाट भएको ६० किलो किलो सुन तस्करीका मुख्य अभियुक्त दावा लामासँग साँठगाँठ रहेको तथ्य सहित सार्वजनिक हुँदा पनि तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबावमा उन्मुक्ति पाएका भण्डारीलाई माओवादीसहित दल मिलेर बनेको नेकपाले उम्मेदवार बनाएको हो ।

गुल्मीस्थित नेकपाका एक नेताका अनुसार भण्डारीलाई उम्मेदवार बनाउन पूर्वमाओवादीको दबाव थियो । पूर्वमाओवादीकै तर्फबाट उनी नेकपाको साझा उम्मेदवार बनेका हुन् । कोरोना संक्रमणका बेला ओम्नी समुहसँग मिलेर किट खरिदमा संलग्न भण्डारीले नै बिध ल्याब संचालन गरेका थिए । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनका निकट पात्र रहेका भण्डारीलाई तत्कालिन सीआइबी प्रमुख किरण बज्राचार्यले अनुसन्धानमा लापरबाही गर्दा उन्मुक्ति पाएका थिए । यो प्रकरणमा मुछिएका जिवन चलाउने अहिले पनि फरार छन् । यता सुनकाण्डमा जेल परेका दावा लामा पनि अहिले जेलबाट भागेको खुलेको छ ।’
यता सीआइबीले पक्राउ गर्ने डरले भण्डारी भने दुबईमा लुकेर बसेको उनी निकट एक व्यक्तिले दियोपोस्टलाई बताए । उनको मोबाइलमा सम्पर्क गर्दा फोन समेत बन्द गरिएको जानकारी प्राप्त भएको छ ।

२०८० चैत्रमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले भण्डारीलाई पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । सीआइबीले २०८० असार १७ गते पेश गरेको अनुसन्धान प्रतिवेदनमा पनि भण्डारीलाई भने उन्मुक्ति दिएर अभियोगपत्र बुझाएको थियो ।