काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवारी दिएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामबहादुर चौहानले काठमाडौँमा रहेका अर्घाखाँचीका मतदातासँग भेटघाट गरेका छन्। नेकपा अर्घाखाँची काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित विशेष कार्यक्रममार्फत नेता चौहानले राजधानीमा बसोबास गर्दै आएका अर्घाखाँचीका मतदातासँग भेटघाट गरेका हुन्।
कार्यक्रममा काठमाडौँमा रहेका अर्घाखाँची बासीसंग प्रत्यक्ष संवाद गर्दै नेता चौहानले अर्घाखाँचीको समग्र विकास र समृद्धिका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारे। अर्घाखाँचीबाट काठमाडौँ आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेकपा निकट मतदातालाई फागुन २१ गते मतदानका लागि जिल्लामा उपस्थित हुन उनले आग्रह गरे।
नेता चौहानले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक मतदानमार्फत आफू र सिंगो नेपाली कम्युनिष्ट पार्टीलाई अत्यधिक मतले विजयी गराउन मतदातालाई अपिल गरे । नेकपाको जीत सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण, गणतन्त्र तथा संविधानको रक्षाका लागि आवश्यक रहेको भन्दै उनले जनताका आधारभुत आवश्यकता पुरा गर्ने प्रतिवद्धता जनाए ।
नेता चौहानले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता र जनताको जीवनस्तर उकास्न नेकपा सधै नेतृत्व प्रतिबद्ध रहेको बताए।
सो अवसरमा एमाले जिल्ला सदस्य बिकास बञ्जाडेले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । उनलाई नेकपाकी नेतृ पम्फा भुसाल, केन्दिय सदस्य ठाकुर कुमार बिके र उम्मेदार राम बहादुर चौहानले टिका लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा काठमाडौँमा रहेका अर्घाखाँचीवासी लगायत नेकपाका केन्द्रिय सदस्य डिलाराम आचार्य, मोहन गौतम, राजेन्द्र भुसाल, सुशिल भट्टराई, नारायण शर्मा, नारायण खनाल, संविधान सभा सदस्य बिनोद पहाडी, जिल्ला बिकास समिति अर्घाखाँचीका पूर्व सभापति पिताम्बर भुसाल, दलित बिकास समितिका पूर्व उपाध्यक्ष खिम बहादुर बिके, पार्टी नेता टंक चौहान, डा. निमानन्द रिजाल लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
नेकपा अर्घाखाँची काठमाडौँ सम्पर्क मञ्चका संयोजक बिष्णु भाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मधु रिजालले संचालन गरेका थिए ।

