बर्दियामा चितुवाको आक्रमणबाट एकै दिन दुई जनाको मृत्यु, मृतकका परिवारद्वारा प्रशासन घेराउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । बर्दियामा चितुवाको आक्रमणबाट एकै दिनमा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-४ तुल्सीपुर निवासी ३५ वर्षीय नन्दु रोकाय र मधुवन नगरपालिका-९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसारा डाँगी रहेका छन् ।

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीका अनुसार बारबर्दिया नगरपालिका-११ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा रोकायमाथि चितुवाले आक्रमण गरेको हो । त्यस्तै, डाँगीलाई बारीमा छिमेकीहरूसँग घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरी भारतीय वन क्षेत्रतर्फ लगेको बताइएको छ ।

खोजतलासको क्रममा दशगजा नजिकैको अरहर बारीमा डाँगीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए ।

माघ महिनामा मात्रै बारबर्दिया नगरपालिका-११ बेलभार क्षेत्रमा चितुवाको आक्रमणबाट यसअघि पनि दुई जनाको मृत्यु भइसकेको छ । गत माघ ७ गते तोरी उखाल्ने क्रममा चितुवाको आक्रमणबाट सोही क्षेत्रकी खिदनी थारूको मृत्यु भएको थियो । यससँगै माघ महिनामा मात्र चितुवाको आक्रमणबाट तीन जनाको ज्यान गएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार गत साउनयता चितुवाको आक्रमणबाट सात जना, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

लगातारको घटनाप्रति आक्रोशित पीडित परिवार र स्थानीयबासीहरूले जिल्ला प्रशासन कार्यालय बर्दिया घेराउ गरेका छन् । प्रशासन कार्यालयले वेवास्ता गरेको आरोप लगाउँदै स्थानीयले घेराउसँगै तोडफोडसमेत गरेका थिए । त्यसपछि प्रशासन कार्यालयमा पीडित परिवारसहित सर्वदलीय, सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकले चितुवालाई नियन्त्रणमा लिने र आवश्यक परे कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ । पीडितका आफन्त तथा स्थानीयबासीहरूले मान्छे मार्ने चितुवालाई तत्काल नियन्त्रणमा लिई मार्नुपर्ने, पीडित परिवारलाई राहत, क्षतिपूर्ति तथा रोजगारको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

गुलरिया नगरपालिका-४ तुल्सीपुरकी जितकुमारी योगीले सम्बन्धित निकायले समयमै चासो नदिँदा जिल्ला प्रशासन कार्यालय घेराउ गर्न बाध्य भएको बताइन् । स्थानीयले प्रशासन कार्यालयको गेट खोलेर भित्र प्रवेश गरी प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष, भण्डार कक्ष र लेखा शाखाका ढोकामा क्षति पुर्‍याएका छन् ।

स्थानीयको विरोधपछि जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारसहित पुनः सर्वपक्षीय बैठक बसेको थियो ।

सम्बन्धित खबर

सिफारिस