बाँकेमा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न

दियोपोस्ट संवाददाता  

काठमाडौँ । बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न भएको छ। बास नेपालको केन्द्रीय कार्यालय, बाँकेमा शुक्रबार आयोजित भेलामा जिल्लामा क्रियाशील रहँदै आएका विभिन्न असल शासन क्लबका पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो।

भेलामा सहभागी पूर्व अध्यक्षहरूले असल शासन क्लबमार्फत हासिल गरेका अनुभव र योगदानका बारेमा धारणा व्यक्त गरेका थिए। प्रो पब्लिकको असल शासन कार्यक्रम अन्तर्गत २०५६ सालदेखि २०६५ सालसम्म बाँकेका साविकका विभिन्न गाविस तथा नगरपालिकामा ६२ वटा असल शासन क्लबहरू गठन भई क्रियाशील रहेका थिए।

हाल बास नेपाल बाहेक अन्य क्लबहरू निष्क्रिय रहेको अवस्थामा ती क्लबहरूले सुशासन प्रवर्द्धनमा पुर्‍याएको योगदानको समीक्षा र स्मरण गर्न भेला आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले करिब २५ वर्षअघि असल शासन क्लबमार्फत उठाइएको सुशासनको एजेण्डा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले असल शासन क्लबहरूले सुशासन बहालीका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

नेपालगञ्ज उपमहानगरपालिकाकी निवर्तमान उपप्रमुख, बास नेपालकी पूर्व केन्द्रीय उपाध्यक्ष तथा पश्चिमाञ्चल असल शासन क्लब नेपालगञ्जकी पूर्व अध्यक्ष उमा थापा मगरले असल शासन क्लबमार्फत समाजका लागि गरेको योगदान सम्झँदा गर्व लाग्ने बताइन्। उनले आफ्नो व्यक्तित्व विकासमा पनि क्लबको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन्।

फुल्टेक्रा असल शासन क्लबका पूर्व अध्यक्ष तथा पत्रकार चन्द्रेश्वरराज त्रिपाठीले क्लबहरूले उठाएका एजेण्डाहरू हालसम्म पनि सान्दर्भिक रहेको बताए। त्यस्तै, हरियाली असल शासन क्लब गंगापुरका पूर्व अध्यक्ष तथा रेडक्रसकर्मी प्रहलाद विश्वकर्माले राप्तीपारी जस्तो पछाडि पारिएको क्षेत्रमा असल शासन क्लब गठन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाउनु चुनौतीपूर्ण रहेको अनुभव सुनाए।

कार्यक्रममा सभ्य समाज असल शासन क्लब कम्दीका पूर्व अध्यक्ष सूर्यलाल यादव, असल शासन जिल्ला समन्वय समिति बाँकेका पूर्व अध्यक्ष डा। तिलक बहादुर केसी, सम्झना असल शासन क्लब बनकटवाका पूर्व अध्यक्ष बिरेन्द्र शाही, जीवन असल शासन क्लब खजुराका पूर्व अध्यक्ष झविलाल शर्मा तथा जनमुखी असल शासन क्लब नौबस्ताका पूर्व अध्यक्ष एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरिञ्जीवी ओलीले पनि आफ्नो अनुभवसहित मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले असल शासन क्लबमार्फत क्षमता अभिवृद्धि भएको, भ्रष्टाचारविरुद्ध बाँकेमा सशक्त अभियान सञ्चालन भएको र सार्वजनिक सुनुवाइ प्रक्रिया सुरु भई संस्थागत हुन सफल भएको अनुभव साझा गरेका थिए।

२० भन्दा बढी असल शासन हिमायतीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गरेका थिए।

कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति बाँकेका संस्थापक अध्यक्ष तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको सञ्चालनमा सम्पन्न भएको हो।

सिफारिस