काठमाडौँ । ओखलढुङ्गा जिल्लाको चिशंखुगढी गाउँपालिका–६ बोहोरेमा भएको वृद्ध दम्पत्ती हत्यामा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगर पालिका–१५ डल्लुबाट ३४ वर्षीय धनबहादुर राना मगर र १७ वर्षीय नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धनबहादुर राना मगर ओखलढुङ्गाको साविक भदौरे ४, हाल चिशंखुगढी गाउँपालिका-६ का स्थायी बासिन्दा हुन्।
प्रहरीका अनुसार अभियुक्तहरूले काठमाडौंमै लुटपाट गर्ने योजना बनाई ओखलढुङ्गा पुगेर वृद्ध दम्पत्तीको हत्या तथा लुटपाट गरेका थिए। उनीहरुले बृद्ध दम्पत्तिको हत्या गरि सोही राती फरक बाटो प्रयोग गरी भागेको र बस टिकट काट्दा समेत वास्तविक नाम परिवर्तन गरेको खुलेको छ।
घटनास्थलबाट हत्यामा प्रयोग भएको कोदालो बरामद गरिएको छ। साथै अभियुक्तहरूको डेराबाट मृतकहरूले प्रयोग गर्ने मोबाइल फोन, घटनामा प्रयोग गरिएका मोबाइल, लुटिएका रिचार्ज कार्ड, सुनजस्तै देखिने गहना, नगद रकम तथा सि माला लगायतका सामग्रीहरू बरामद गरिएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोकको पनौतीस्थित अभियुक्तका आफन्तको डेराबाट मृतक चन्द्र बिक्रम राईको मोबाइल समेत फेला परेको छ।
पक्राउ परेका अभियुक्तहरूलाई बरामद दसी–प्रमाणसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा पठाइएको प्रहरीले जानकारी दिएको छ।
माघ १२ गते राति करिब १० बजेको समयमा अन्दाजी ८१ वर्षीय चन्द्र बिक्रम राई आफ्नै घरको दोस्रो तलाको सुत्ने कोठामा खाटमा मृत अवस्थामा फेला परेका थिए भने उनकी श्रीमती अन्दाजी ८० वर्षीया चन्द्रमाया राई खाट छेउको भुइँमा मृत भेटिएकी थिइन्। घटनाबारे माघ १३ गते बिहान स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। थप प्राविधिक अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट माघ २० गते विज्ञ जनशक्ति खटिएको थियो।