काठमाडौं । पर्वतारोहण तथा ट्रेकिङ क्षेत्रमा ‘फेक रेस्क्यु’ गराई बीमा रकम दुरुपयोग गरेको आरोपमा एक निजी अस्पतालका सञ्चालक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लाजिम्पाटस्थित ‘श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.ली’का संचालक गिर्वाणराज तिमिल्सिनालाई आइतबार पक्राउ गरेको हो ।
सिआइबीले ‘पर्वतारोहण’ तथा ‘ट्रेकिङ’का क्रममा विदेशी पर्यटकलाई स्वास्थ्य समस्या वा प्राकृतिक विपद् परेको झुटो विबरण देखाउँदै अनावश्यक उद्धार गराई बीमा रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा माउन्टेन रेस्क्यु सर्भिस प्रा.लि., एभरेस्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स प्रा.लि.तथा नेपाल चार्टर सर्भिस प्रा. लि. जस्ता उद्धार तथा चार्टर सेवा कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र विमानस्थलमा रहेको अभिलेखलाई प्रभावित पार्दै यात्रु र कार्गो मेनिफेस्ट फरक-फरक ढंगले पेश गरेको पाइएको सिआइबीले जनाएको छ।
त्यस्तै, उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई अनिवार्य बीमा पोलिसीमा उल्लेख भएका शर्तअनुसार काठमाडौंका विभिन्न अस्पतालमा भर्ना गरी उपचार गरिएको देखाई भर्ना, डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्ट र उपचार खर्चका बिल तयार पारी त्यसकै आधारमा बीमा रकम दाबी गरिएको उल्लेख छ।
सिआइबीका अनुसार यस कार्यले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गराउने खालका समाचार तथा अभिव्यक्ति फैलिन सहयोग पुगेको र नेपाललाई पर्यटकहरूका लागि ‘निषेधित’ गन्तव्य स्थान घोषणा गर्न बिभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा ‘श्रीद्धि इन्टरनेशनल हस्पिटल प्रा.ली’का संचालक तिमिल्सिना विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ५१ अन्तर्गत राष्ट्रहित प्रतिकूल काम गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर माघ २५ गते थप अनुसन्धान सुरु गरिएको सिआइबीले जनाएको छ।
यस प्रकरणमा अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्ति तथा संस्थाको भूमिकाबारे समेत विस्तृत छानबिन गरिने सिआइबीले जनाएको छ ।
