काठमाडौं । प्रहरी बनेर ठगी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। प्रहरीले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-८, बानेश्वर बस्दै आएका वर्ष ४० का दीपक थापा मगरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापा मगरले आफुलाई प्रहरी भएको भन्दै बिभिन्न व्यक्तिहरूलाई डर-धम्की दिई रकम असुल गरेको उजुरी प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा थापा मगरले आफू प्रहरी भएको नक्कली परिचय देखाई विभिन्न व्यक्तिहरूलाई मुद्दा मिलाइदिने तथा कारबाहीबाट बचाइदिने प्रलोभन देखाएर करिब पाँच लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई माघ १९ गते काठमाडौं महानगरपालिका-८ बानेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
प्रहरीले यस्ता ठगीका घटनाबाट सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।