इसाईको नाममा लुट शृङ्खला (२) : अवैध रुपमा यसरी भित्राईन्छ लाखौँ डलर

' बिग स्क्याम ईन द नेम अफ जिसस ' - २

- प्रकाश देवकाेटा  

काठमाण्डाैँ । ‘द तिमोथी ईनिसिएटिभ’ अर्थात टीटीआई एक इसाई संस्था हो । अमेरिकाको नर्थ क्यारोलिनामा मुख्यालय रहेको यो संस्थाले संसारभर इसाई धर्म विस्तार गर्न प्रशिक्षार्थीलाई तालिम दिने गर्छ ।
यसले एसिया, अफ्रिका, युरोपका कयौँ देशमा नयाँ चर्च निर्माण गर्दै आईरहेको छ । नेपालमा पनि टीटीआईले विशेषगरी इसाई धर्म विस्तार गर्न प्रशिक्षार्थीलाई चेला बनाउने तालिम दिन्छ । तालिमकै नाममा नेपालमा अवैध रुपमा करोडौँ रकम भित्रिने गरेको भेटिएको छ ।

के हो यो टीटीआई तालिम अनि कसरी भित्रिदै छ लाखौँ डलर ? विषयवस्तु सुरु गर्नुअघि टिटिआई तालिमबारे बुझ्ने प्रयास गरौँ ।

के हो टीटीआई तालिम ?

टीटीआई को पूरा नाम द तिमोथी ईनिसिएटिभ हो । नेपालमा यो (द तिमोथी पहल) तालिमका नामले इसाईहरु माझ प्रचलित छ ।
इसाईहरुको धर्मग्रन्थ बाईबलमा एक जना ‘पावल’ नामक पात्र छन्् । ‘पावल’ नाम कहलिनुपूर्व उनी सम्राट सावलका नामले परिचित थिए । बाइबलका अनुसार हिंस्रक सावल पछि एक्कासी ‘पावल’को रुपमा परिवर्तन भए र जिसस क्राइस्ट अर्थात येशुको प्रचारमा लागेका थिए ।

उनै ‘पावल’ ले येशुको प्रचार गर्ने क्रममा तिमोथी नामक चेला बनाएका छन् । पछि ‘पावल’लाई पछ्याउँदै तिमोथीले पनि आफ्नो गुरुले झै येशुको प्रचार गर्दै जान्छन् । भनिन्छ उनले आफ्नो जिवनकालमा थुप्रै नयाँ चर्च अनि चेलाहरु बनाएका थिए । उनै तिमोथीले झै चेला बनाउने उद्देश्यले यो संस्थाको नाम पनि द तिमोथी ईनिसिएटिभ राखिएको छ ।
तालिम पार गरेका सबै ‘पावल’ कहलिने गर्छन् । ‘पावल’ भैसकेकाहरु तिमोथी बनाउने उद्देश्यका साथ फिल्डमा उत्रिन्छन्। नयाँ पावलहरु तिमोथी बनाउने होडमा विश्वका विभिन्न कुना अनि कन्धरामा पुग्ने गर्छन्।

यसरी सरु हुन्छ येशुको उपदेशका नाममा धर्म प्रचारको खेल । सु—समाचारको बहानामा अन्य धर्मका सोझासाझा मानिसलाई विभिन्न डर, कर अनि रहर देखाएर इसाई बनाउने गरिन्छ । पावलले तिमोथी बनाउने र तिमोथीले नयाँ चेला बनाउने गर्छन् । र यो क्रम चलिरहन्छ ।
टीटीआई जस्ता अरु पनि थुप्रै तालिम नेपालमा संचालित छन् । जसले इसाई धर्मको प्रचार र धर्म परिवर्तन गर्न सक्रिय छन् । यसमा भित्रभित्रै विदेशी संघ संस्थाको ठूलो लगानी देखिन्छ । तर नेपाल सरकार भने मौन छ ।

धर्मको आडमा ‘डलर धन्दा’

सन् २००८ मा नेपाल भित्रिएको टीटीआईले सक्रिय रुपमा धर्म प्रचारको काम गर्दै आइरहेको छ । नेपालमा टीटीआई नेपालका नामले लामो समयदेखि धर्म प्रचारको क्षेत्रमा काम गर्दै आएपनि कानुनी रुपमा भने कतै दर्ता छैन ।
टीटीआई नेपालले नेपालमा वार्षिक ६५ लाख अमेरिकी डलर नेपालमा भित्र्याउदै आएको छ । यो सबै रकम अवैध माध्यमले नेपालमा ल्याउने र धर्म प्रचारको काममा खर्च गर्ने गरिएको विषय बाहिरिएको छ । नेपालमा धर्म प्रचारकै लागि भनेर टीटीआईले यति ठुलो रकम लगानी गरिरहेको स्रोतको दाबी छ ।

यो रकम टीटीआई (द तिमोथी पहल) नामक तालिममा आवश्यक पुस्तक छपाई, तालिम दिने प्रशिक्षकको तलब, भर्ना फारम, प्रमाणपत्र छपाई, दिक्षान्त फारम लगायत कागजात छपाईमा खर्च हुँदै आएको दियोपोष्टलाई प्राप्त प्रमाणमा भेटिएको छ ।

स्रोतका अनुसार, टीटीआईले गएको आर्थिक वर्ष मात्र १८ करोड रुपैयाँभन्दा बढि रकम धर्म प्रचारका किताब छाप्न अवैध रुपमा नेपाल भित्र्याएको छ ।
यसरी भित्रिएको रुपैयाँले करिब २ लाख बढी प्रती तालिमका लागि आवश्यक पुस्तक छापेको केही पास्टरहरु बताउँछन् ।

यसले नेपालमा कानुन विपरित धर्म प्रचार गर्न अस्वस्थ तरिकाले भित्रभित्रै नयाँ धर्म प्रचारक बढाइरहेको छ ।
नेपालमा प्रशिक्षार्थीहरुले २ वर्षको तालिममा कुल १२ वटा पुस्तक पढ्नुपर्ने हुन्छ । १२ वटा पुस्तक १८ महिनामा सकेपछि प्रशिक्षार्थीले बाँकी ६ महिना फिल्डमा गएर धर्मबारे प्रचार गर्नुपर्ने हुन्छ । जसलाई इसाईहरु सु–समाचार भन्ने गर्छन् ।

सन् २०२२ देखि २०२४ को मार्चसम्म मात्र टीटीआई नेपालले करिब १५ हजार जतिलाई टीटीआई तालिम दिएको छ । जसमा पास हुनेको संख्या १४ हजार हाराहारी रहेको टीटीआईका प्रशिक्षक तथा बागमती प्रदेशका संयोजक समेत रहेका नाम परिर्वतित आकाश लामा बताउँछन् ।

नेपालका ७ सय मण्डलीहरु (चर्च) मार्फत यो तालिम संचालन भएको टीटीआईमा कार्यरत प्रशिक्षकहरु बताउँछन् । टीटीआई तालिम संचालन गर्न कम्तिमा पनि एउटा समूहमा २० जना प्रशिक्षार्थी हुन जरुरी हुन्छ । यस हिसाबले २० जनाकै मात्र हिसाबले पनि ७ सय चर्चलाई गुणान गर्ने हो भने तालिम लिनेको संख्या १४ हजार हुन आउँछ । तर कतिपय चर्चमा २५ देखी ३० जनाको समूह रहेको प्रशिक्षक स्वयं बताउँछन् । त्यस हिसाबले यो संख्या १५ हजारको हाराहारीमा हुनसक्ने अनुमान छ । तर तालिम पास हुनेमा भने अघिल्लो ब्याचमा जम्मा १४ हजार जति मात्र रहेको प्रशिक्षकको दाबी छ ।

टीटीआईले टीटीआईको तालिम संचालन गर्ने चर्चलाई प्रति चर्च १ लाख २० हजार रुपैयाँ खर्च उपलब्ध गराउँदै आएको छ । यो हिसाबले २ वर्षमा टीटीआई नेपालले ७ सय चर्चलाई ८ करोड ४० लाख रुपैयाँ रकम उपलब्ध गराउँदै आएको छ । यति ठूलो कारोबार भएतापनि कुनै पनि बैंकिङ प्रणालीमा भने यसको रेकर्ड छैन । रकम प्राप्त गर्ने चर्च तथा मण्डलीलाई टीटीआईको आर्थिक पक्ष अवैध हो भन्नेबारे थाहा नभएको बताउँछ । उनिहरु टीटीआई नामक संस्थाले आर्थिक सहायता दिने तर नेपालमा सो रकम अवैध रुपमा भित्र्याईन्छ भन्ने विषयमा जानकारी नभएको समेत दाबी गर्छन् ।

उसो त नेपालमा टीटीआई तालिम दिने प्रशिक्षक तथा कर्मचारीलाई समेत कुनै वैधानिक सम्झौता बिना नियुक्त गर्ने गरेको पाईएको छ । टीटीआई नेपालमा सिप प्रशिक्षकका रुपमा कार्यरत एक जना प्रशिक्षकले नाम नबताउने शर्तमा भने, ‘संस्थामा हाम्रो कुनै पनि लिखित सम्झौता हुँदैन । दुई वर्षको तालिम अवधिका लागि मौखिक सम्झौता गरिन्छ । तालिमको अवधि सकिएपछि सम्झौता पनि स्वतः सकिन्छ । उनले भने, ‘मलाई भित्री कुरा केही थाहा छैन । हामीले प्रशिक्षण दिए बापत हामीलाई गुरूपका हिसाबले पैसा दिइन्थ्यो । त्यसबाहेक मासिक तलब थियो ।’

तपाईंलाई दिइने पैसाको स्रोत के हो भनेर प्रश्न गर्दा उनले भने,‘मलाई केही थाहा छैन । हामी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने मात्र गर्छौ । पैसा कहाँबाट आयो कसरी आयो सोध्ने काम हाम्रो होईन । यो विषयमा कृष्ण घिमिरे सरलाई नै थाहा छ । मलाई केही थाहा छैन ।’

तस्बिरमा कृष्ण घिमिरे श्रीमतीका साथमा 

सन् २०२१ भन्दाअघि सम्म टीटीआई नेपालले नेपालका दुई सय जति चर्चमा तालिम दिन्थ्यो । सुरुवाती दिनमा १० / १५ वटा चर्चबाट सुरु भएको यो कार्यक्रम २०२२ सम्म आईपुग्दा तालिम संचालन गर्ने चर्चकाे संख्या ७ सय पुगेको छ ।
स्रोतका अनुसार अहिलेसम्म टीटीआई नेपालको तालिम लिनेको संख्या ठ्याक्कै यति छ भन्न सकिने अवस्था छैन । किनकी यसको रेकर्ड टीटीआईको हेडक्वाटरसंग मात्र रहेको बताईन्छ । जसको कार्यालय अमेरिकामा छ ।

टीटीआईमा कार्यरत एक कर्मचारी भन्छन्, “टीटीआई नेपालले हरेक प्रदेशमा एक एक वटा सम्र्पक व्यक्ति अनि मण्डली छानेको छ । ति व्यक्तिहरुले नै जिल्ला जिल्लामा संचालन भैराखेका तालिमहरु अनुगमन गर्ने, निरीक्षण गर्ने र केन्द्रमा रिपोर्ट पठाउने काम गर्दछन्।’

नाेट : यस विषयमा हामीले अरुपनि थप तथ्यहरु खोजेका छौ । नेपालमा धर्मका नाममा कसरी अवैध धन्दा चलिरहेको छ भन्ने बारे यसलाई श्रृङ्खलाबद्ध रुपमा प्रकाशन गर्नेछौ । यस श्रृङ्खलालाई हामीले ‘ बिग स्क्याम ईन द नेम अफ जिसस ‘  नाम दिएका छौ । यससंग सम्बिन्धत थप सामाग्री पढ्न वा जान्न  हामीसंग जोडिन सक्नुहुन्छ ।

याे पनि पढ्नाेस् ।

ईसाइको नाममा करोडौँ ‘डलर’ घोटाला : राजश्व अनुसन्धान विभागमा लुकाइएको त्यो निवेदन