
काठमाडौं । करिब ७ महिनाअघि २०८० माघ १८ गते राजश्व अनुसन्धान विभाग, महानिर्देशकको सचिवालय हरिहर भवनमा एउटा उजुरी दर्ता हुन्छ ।
विषय : करछली सम्बन्धमा
निवेदक : बिमलजेन्द्र कार्की (नाम परिवर्तन)
दर्ता नं : २०५५
निवेदनमा लेखिएको थियो,—महोदय, उपरोक्त सम्बन्धमा स्थायी लेखा नम्बर ६०९५२३००४७ भएको जोन्स टेक्नोलोजी इंक प्रा.लि नाम भएको कम्पनीबाट यसैया प्रिन्टर्स नाममा नक्कली बिल जारी गरि करछली गरेको हुनाले उक्त कम्पनीको बारेमा उचित छानबिन गरि कारबाही गरि पाउँ भनी प्रमुख समक्ष सादर निवेदन गर्दछु ।
निवेदन परे लगत्तै राजश्व अनुसन्धान विभागको टोलीले उक्त छापाखानामा छापा पनि हान्छ । तर छापा हानेको सात महिना बितिसक्दा पनि कुनै कारबाही अघी बढ्दैन ।
यसबीचमा विभागका हाकिम पनि परिवर्तन हुन्छन् । पुरानो हाकिमले नखोलेको फाईल नयाँ हाकिमले झन हेर्ने कुरै भएन । विषय गम्भिर भएतापनि विभागले खासै वास्ता गर्दैन । विभागको कार्यालयमा त्यो निवेदनलाई कुनै फाईलिङ नगरी कर्मचारीले राखेका छन् । दियो पोष्टले सो निवेदनका बारे विभागमा बुझ्न गएको थियो । धेरै बेरको खोजतलास पछी बल्ल एकजना कर्मचारीले निवेदन देखाएका थिए । त्यसलाई फाईलिङ समेत गरिएको थिएन । थप कुरा बुझ्न खोज्दा “नयाँ हाकिम आएपछी आउनुस्’ भनेर टार्ने प्रयास गरियो ।
उक्त निवेदनमा एउटा छापाखानाले फर्जी कम्पनीको नक्कली बिल प्रकाशन गरि, दर्ता भएको अर्कै कम्पनीको पान नं राखेर कसरी करछली गरिरहेको छ भन्ने विषय उठाइएको थियो ।

उक्त छापाखानाले प्रकाशन गरेका भनिएका पुस्तकहरु सामान्य पुस्तक अवश्य थिएनन् । ती त नेपालमा ख्रिष्टियन धर्म प्रचारको लागि प्रकाशन गरिएका पुस्तकहरु थिए ।
अमेरिकामा मुख्यालय रहेको ‘द तिमोथी ईनिसियटिभ’ अर्थात टिटिआई नामक यो संस्थाले नेपालमा ईसाई धर्मको प्रचारका लागि पुस्तक प्रकाशन गर्ने, चर्चहरु विस्तार गर्ने र तालिमहरु दिने काम गर्दछ । अमेरिकास्थित टिटिआईको नेपाल देश हेर्ने व्यक्ति हुन, कृष्ण प्रसाद घिमिरे । उनै घिमिरे नेतृत्वको टिटिआईले नेपालमा ईसाई धर्म प्रचारको नाममा भित्रिने करोडौँ डलर घोटाला गरिरहेका छन् ।
टीटीआई नामक संस्थाले विगत १६ वर्ष देखि नेपालमा चेला बनाउने र धर्म प्रचार गर्ने तालिम दिदै आएको छ । टीटीआईले ईसाइ धर्मका आडमा अवैध रुपमा ठुलो रकम समेत भित्राईरहेको कुरा नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताएका छन् ।
नेपालमा जोन्स टेक्नोलोजी ईन्क प्रा.लि नामक छापाखानाले धर्म प्रचारका पुस्तक छाप्दै आएको छ । सोही पुस्तकको बिलमा जोन्स टेक्नोलोजी ईन्क प्रा.लि ले आफ्नो पान नम्बर राखेर फर्जी कम्पनीको नाममा बिल काटेको थियो । फर्जी बिलबारे अनुसन्धान गर्दा यो धन्दाको पर्दा खुल्ने डरले राजश्वकै अधिकारीहरुको मिलेमतोमा यो घटना लुकाइएको छ ।
सामान्य रुपमा हेर्दा करछली गर्न खोजेको देखिएपनि यो विषय ईसाइ धर्मका नाममा भित्रिने अवैध रकम घोटालासँग सम्बन्धित छ ।
नेपालमा काम गर्न कुनैपनि वैदेशिक संस्थाले समाज कल्याण मार्फत अनुमती लिएर मात्र काम गर्न पाउने प्रावधान छ । तर टीटीआई नामक यो वैदेशिक संस्थाले अहिलेसम्म कुनै पनि निकायबाट अनुमती लिएको देखिदैन ।
सो संस्थाले बिना अनुमती नेपालमा वार्षिक करोडौँ मुल्यका पुस्तकहरु छाप्ने गरेको प्रमाण यतिबेला बाहिरिएको छ । यी पुस्तकले धर्म परिवर्तनमा ठूलो भुमिका खेलेको केही ईसाइका जानकार बताउछन् ।
स्रोतका अनुसार टीटीआईले वार्षिक ६५ लाख अमेरिकी डलर नेपालमा खर्च गरिरहेको छ । नेपालमा भित्रिने यो रकम पुरा रुपमा अवैध हो । टीटीआई नेपालका निर्देशक समेत रहेका कृष्ण घिमिरेले अवैध रुपमा यो रकम भित्र्याउदै आएका छन्।
कानुनी रुपमा दर्ता नभएका कारण पनि शहर बजारका चर्चहरुले तालिम संचालन नगरेको हुनसक्ने भन्दै टीटीआइका पुर्वकर्मचारी भन्छन्, ‘तालिम लिनेमा अधिकांश चर्चहरु बिकट गाउँठाउँका छन् । बाहिर हल्ला नहोस भनेर पनि शहर बजारमा भन्दा गाउँमा यो तालिम संचालन गरिन्छ ।’
नेपालमा धर्मका नाममा भित्रिने अवैध रकम देखी धर्म प्रचारको विषय समेत जोडिको निवेदनलाई विभागले भने खासै महत्व दिएको देखिदैन । निवेदनमा सामान्य छापाखानाको करछलीको विषयलाई अनुसन्धान गरेको भए विभागले ठूलै धन्दाको पर्दाफास गर्न सक्ने सम्भावना थियो । तर, विभागका तत्कालिन उच्च अधिकारीको मिलेमतोमा त्यो उजुरी नै तामेलीमा राखिएको छ ।
निवेदन परेको लामो समय बितिसक्दा पनि निवेदनमाथी कुनै कारबाही नहुदाँ यो विषय अझ शंकास्पद बनेको छ ।
नाेट : यस विषयमा हामीले अरुपनि थप तथ्यहरु खोजेका छौ । नेपालमा धर्मका नाममा कसरी अवैध धन्दा चलिरहेको छ भन्ने बारे यसलाई श्रृङ्खलाबद्ध रुपमा प्रकाशन गर्नेछौ । यस श्रृङ्खलालाई हामीले ‘ बिग स्क्याम ईन द नेम अफ जिसस ‘ नाम दिएका छौ । यससंग सम्बिन्धत थप सामाग्री पढ्न वा जान्न हामीसंग जोडिन सक्नुहुन्छ ।
भिडियाे सामाग्री :