मकवानपुरको भिमफेँदीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मकवानपुरस्थित भीमफेदी गाउँपालिका–५ र भीमफेदी–१ को सिमानामा पर्ने बुङ्दलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल आइतबार बिहान करिब ७ बजे मकवानपुरगढी खोलाको पुलबाट करीब ५० मिटर तल खसेको हो ।

दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्व नवलपरासी कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोलमा बसोबास गर्दै आएका ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराका अनुसार बिहानै स्थानीयले खोलामा मोटरसाइकल र दुई जनालाई अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएर इलाका प्रहरी कार्यालय चौकीटोलबाट टोली घटनास्थल पुग्दा दुवै जनाको मृत्यु भइसकेको पुष्टि भएको थियो। दुर्घटनास्थलको अवस्था हेर्दा घटना शनिबार राति नै भएको अनुमान गरिएको बोहोराले बताए।

प्रहरीका अनुसार मोटरसाइकल पश्चिमतर्फ (सुपारेटार–ब्यारेक)बाट पूर्वतर्फ (सामरी–धादिङ) गइरहेको क्रममा दुर्घटना भएको देखिन्छ। दुवै शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पुर्‍याइएको प्रहरीको भनाई छ ।

 

सिफारिस