काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा-१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएका छन्। उनले १० हजार ४२८ मत प्राप्त गर्दै निर्वाचन जितेका हुन्।
निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ मत प्राप्त गरे भने नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत ल्याएका छन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कालोसूचीमा परेको उल्लेख गर्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। उक्त निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले सो रिटमाथि सुनुवाइ गर्दै दुवै पक्षलाई आगामी फागुन २९ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
निर्वाचन आयोगका अनुसार सोमबार बसेको आयोगको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएपछि विजेताको औपचारिक घोषणा गरिएको हो।