बैंकिङ कसूरका फरार प्रतिवादी सविता कार्की १३ वर्षपछि पक्राउ, फैसला कार्यान्वयनका लागि अदालतमा पेश

दियोपोस्ट संवाददाता  

काठमाडौं । बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार रहेकी प्रतिवादी सविता कार्की पक्राउ परेकी छन् । उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका कार्यालय वडा नं. ४ बाट मंगलबार पक्राउ गरिएको हो।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत मा पेश गरिएको प्रहरीले जनाएको छ। नेपाल राष्ट्र बैंकको जाहेरीमा दायर उक्त मुद्दामा चारित्रिक विल्डर्स प्रा.लि.को नाममा कम्पनी दर्ता गरी बनावटी कागजात तयार गर्ने, हाउजिङ तथा निर्माण परियोजना देखाएर कृत्रिम व्यवसाय खडा गर्ने र त्यसका आधारमा कर्जा निकासा गराउने कार्य गरेको अभियोग लागेको थियो।

सो क्रममा क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारी कर्जा स्वीकृत गराई उक्त रकम परियोजनामा नलगाई दुरुपयोग गरिएको पाइएको थियो। साविक पुनरावेदन अदालत पाटनको फैसलाले प्रतिवादी कार्कीलाई ३ वर्ष कैद र रु. ८ करोड ५० लाख जरिवाना हुने ठहर गरेको थियो। तर उनी लामो समयदेखि फरार रहँदै आएकी थिइन्।

उक्त मुद्दा नेपाल सरकार वादी रहेको बैंकिङ कसूरसम्बन्धी महत्वपूर्ण पुरानो मुद्दामध्ये एक मानिन्छ, जसमा बनावटी परियोजना र कागजातमार्फत ठूलो परिमाणमा बैंक कर्जा दुरुपयोग गरिएको ठहर गरिएको थियो। प्रहरीले १३ वर्षपछि भएको उक्त पक्राउलाई फैसला कार्यान्वयन तथा फरार अपराधी नियन्त्रण अभियानअन्तर्गत महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

सिफारिस