फिफा विश्वकप २०२६ को समूह चरणको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ। ३८ वर्षीय कप्तान लायनेल मेस्सीले आफ्नो खेल जीवनको २०० औँ अन्तर्राष्ट्रिय खेल मनाउँदै कतार विश्वकपको साढे तीन वर्षपछि पुनः विश्वकपको मैदानमा जादुमयी प्रदर्शन गरे। कन्सास सिटी स्टेडियममा भएको यस खेलमा उनले सबै ३ गोल गर्दै आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरे।
यस ह्याट्रिकसँगै मेस्सीले विश्वकपको इतिहासमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका दिग्गज स्ट्राइकर मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमानसँग बराबरी समेत गरेका छन्। तर, यो ऐतिहासिक र गौरवशाली प्रदर्शनको खुसीयालीमा एउटा विवादास्पद ‘फाउल’ले ठूलो धक्का पुर्याएको छ र खेलमा ‘पक्षपात’ भएको आरोपले विश्वकपको यस संस्करणको पहिलो ठूलो रेफ्रीङ विवाद निम्त्याएको छ।
खेलको १७ औँ मिनेटमा बायाँ खुट्टाको उत्कृष्ट प्रहारबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका मेस्सी खेलको ३० औँ मिनेटमा एउटा गम्भीर विवादमा तानिए। बल खोस्ने क्रममा मेस्सीले अल्जेरियाका सेन्टर-ब्याक ऐसा मान्डीलाई ढिलो गरी लखेटेका थिए, जहाँ उनको बुटको तल्लो भाग (स्टड्स) ले डिफेन्डरको पिँडुलाको पछाडिको भागमा ताकेरै प्रहार गरेको देखिन्थ्यो।
मान्डी पीडाले मैदानमा छटपटाए र केही बेर उपचार पनि गराउनुपर्यो (यद्यपि उनले पछि खेललाई निरन्तरता दिए)। पोल्याण्डका प्रख्यात रेफ्री सिमोन मार्सिनियाकले फाउल त दिए, तर मेस्सीलाई कुनै पहेँलो वा रातो कार्ड देखाएनन्। अचम्मको कुरा त के छ भने, भिडियो असिस्टेन्ट रेफ्री (VAR) टोलीले पनि यसलाई गम्भीर फाउल खेलको रूपमा रिभ्यु (पुनरावलोकन) गर्न सिफारिस गरेन र मेस्सीले ‘क्लिन चिट’ पाए।
प्रतियोगिताको उद्घाटन खेलमै तीनवटा रातो कार्ड दिइसकिएको अवस्थामा मेस्सीले कुनै सजाय नपाएपछि सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा फुटबल फ्यानहरूले चर्को आक्रोश पोखेका छन्। विशेष गरी क्रिस्टियानो रोनाल्डोका फ्यानहरूले मेस्सी भएकै कारण रेफ्री र फिफाले उनीप्रति नरम र छनोटपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा प्रशंसकहरूका केही कडा प्रतिक्रियाहरू यस्ता थिए:
“यो फुटबलका लागि राम्रो संकेत होइन, मेस्सीले स्पष्ट रातो कार्डबाट उन्मुक्ति पाउनु लज्जास्पद छ। यदि अरू कोही भएको भए मैदानबाट बाहिरिनुपर्ने निश्चित थियो।”
“मेस्सी फिफाको छोरा (वा राजकुमार) भएकाले उनले रातो कार्ड नपाएका हुन्, उनी अपवाद हुनु हुँदैनथ्यो।”
केही फ्यानहरूले त मेस्सी र रोनाल्डोलाई भिडाउनका लागि फिफाले यस्ता गल्तीहरूमा आँखा चिम्लिने गरेको र खेल पहिले नै ‘फिक्स्ड’ हुने गरेको समेत दाबी गरेका छन्।
एक दक्षिण अफ्रिकी प्रशंसकले आक्रोश पोख्दै लेखे, “दक्षिण अफ्रिकी खेलाडीहरूलाई दुईवटा रातो कार्ड दिइयो (जुन पहेँलो सम्म थिएन), तर फिफाको प्रिय मेस्सीले भने उन्मुक्ति पाए। कस्तो लाजमर्दो!”
यो घटनालाई लापरवाहीपूर्ण र खतरनाक भन्दै इएसपीएन (ESPN), द एथलेटिक लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि तीव्र आलोचना गरेका छन्।
इएसपीएनका विश्लेषक एवं पूर्वखेलाडी एले मोरेनोले स्पष्ट रूपमा भने, “यो १०० प्रतिशत रातो कार्ड हो। मेस्सीलाई जोगाइएको देखिन्छ र यसले महान खेलाडीहरूलाई विशेष प्राथमिकता (प्रिफरेन्सियल ट्रिटमेन्ट) दिइन्छ भन्ने भाष्यलाई थप बल पुर्याउँछ।” अर्का विश्लेषक नेडुम ओनुओहाले पनि यो ट्याकल रातो कार्डकै योग्य भएको टिप्पणी गरे।
अर्कोतर्फ, केही प्रशंसक र विश्लेषकहरूले भने मेस्सीको बचाउ गरेका छन्। उनीहरूका अनुसार मेस्सीको ट्याकल जानाजानी गरिएको थिएन।
एक प्रयोगकर्ताले लेखे, “यो बढीमा पहेँलो कार्ड हो। फोटो वा स्क्रिनसटमा जस्तो भयानक देखिन्छ, मेस्सी त्यस्तो पूर्ण गतिमा कुल्चन आएका होइनन्, दुर्घटनावश खुट्टा पर्न गएको हो।” अर्का एक फ्यानले अलि स्पष्ट रूपमा भने, “तपाईं सर्वकालीन महान (GOAT) भएपछि अलिअलि विशेष व्यवहार त पाइहाल्नुहुन्छ नि, यसलाई स्विकार्नुहोस्। केही विश्लेषकहरूले भने ‘ट्याकल लापरवाहीपूर्ण भए पनि गम्भीर चोट नलागेकाले पहेँलो कार्ड पर्याप्त हुन सक्ने’ मध्यमार्गी मत राखेका छन्।
यो विवादको बाबजुद मेस्सीले खेलको ६० औँ र ७६ औँ मिनेटमा थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए। खेलपछि मेस्सीले यो विवादित घटनाबारे कुनै टिप्पणी गरेनन्, बरु आफ्नो प्रदर्शन र टोलीको जितमा मात्र केन्द्रित रहे। फिफा वा रेफ्री टोलीबाट पनि यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यद्यपि, इन्टर मियामीका स्टार मेस्सी खेलको नतिजा र आफू कार्ड पाउनबाट जोगिएकोमा राहत महसुस गर्नेछन्, किनभने विश्वकपमा दुईवटा पहेँलो कार्ड पाएमा एक खेलको प्रतिबन्ध लाग्ने नियम छ। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको ध्यान अब आफ्नो उपाधि रक्षा गर्ने अभियान अन्तर्गत आगामी सोमबार अस्ट्रियाविरुद्ध हुने दोस्रो खेलतर्फ केन्द्रित भएको छ। तर, फुटबल जगतमा ‘स्टार खेलाडीलाई विशेष व्यवहार’ गरिन्छ भन्ने पुरानो बहस भने यो घटनाले फेरि एकपटक नराम्रोसँग ब्युँताइदिएको छ।