काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासी तथा भूमिहीन परिवारलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ।
प्रशासनले कीर्तिपुरस्थित होल्डिङ सेन्टरसहित उपत्यकाका विभिन्न स्थानमा अस्थायी रूपमा राखिएका विस्थापितलाई पाँच दिनभित्र भवन खाली गर्न सूचना टाँस गरेको हो । प्रशासनका अनुसार अस्थायी व्यवस्थापनका रूपमा राखिएका परिवारलाई लामो समयसम्म त्यहीँ राख्न नसकिने भएकाले वैकल्पिक आवासको खोजी गर्न आग्रह गरिएको छ।
होल्डिङ सेन्टरमा लामो समय बस्दा दैनिक जीवनयापनमा समस्या देखिनुका साथै वर्षायाम सुरु भएसँगै बाढी तथा अन्य प्राकृतिक जोखिम बढ्न सक्ने भएकाले तत्काल स्थानान्तरण आवश्यक भएको भन्दै होल्डिङ सेन्टर खाली गर्न भनिएको प्रशासनले जनाएको छ।
विस्थापित परिवारलाई तत्काल कोठा खोजी गरी व्यवस्थित हुन आग्रह गर्दै प्रशासनले व्यावहारिक समस्या देखिएमा आवश्यकतानुसार पुनः व्यवस्थापनबारे विचार गर्न सकिने जनाएको छ।
सरकारले पुनःस्थापना प्रक्रिया सहज बनाउन विस्थापित परिवारलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। प्रशासनका अनुसार बजेट प्राप्त भइसकेको र असार १५ गतेभित्र खर्च तथा वितरण प्रक्रिया पूरा गर्नुपर्ने नीतिगत व्यवस्थाका कारण कामलाई तीव्रता दिइएको हो।
त्यस्तै, कोठा भाडाबापत प्रतिमहिना १५ हजार रुपैयाँका दरले तीन महिनासम्म सहयोग उपलब्ध गराउने निर्णयसमेत भएको छ। यसलाई भूमिहीन तथा सुकुमबासीको अस्थायी व्यवस्थापनका लागि अन्तरिम राहतका रूपमा लिइएको छ।
कीर्तिपुरसहित उपत्यकाका ६ वटा होल्डिङ सेन्टरमा हाल ३८८ परिवार आश्रित रहेका छन्। हालसम्म पुनःस्थापना रकम वितरण सुरु नभएको भए पनि विवरण संकलन तथा प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ।
यसअघि राहत रकम लिएमा दीर्घकालीन रूपमा हटाइने हो कि भन्ने आशंका केही लाभग्राहीमा देखिए पनि प्रशासनले यो रकम तत्कालीन पुनःस्थापनाका लागि मात्र भएको स्पष्ट पारेको छ।