काठमाडौँ । तनहुँको ब्यास नगरपालिका–१० दमौलीस्थित ‘डाइमण्ड’ होटलमा खाजा खाइरहेका दुई युवामाथि केही युवाले खुकुरी प्रहार गरी आक्रमण गरेको घटना सार्वजनिक भएको छ । पीडित पक्षले घटनापछि आफूहरू निरन्तर त्रासमा बाँच्नु परेको भन्दै शन्ति सुरक्षाको माग गरेका छन् ।
घटना गत माघ २१ गतेको हो । घटनामा घाइते भएका आयुष परियारका अनुसार गत माघ २१ गते साँझ उनी र उनका साथी खाजा खान डाइमण्ड होटल पुगेका थिए। खाजा खाइरहेका बेला ५ देखि ७ जना अपरिचित व्यक्ति होटलभित्र प्रवेश गरी एक्कासी आफुहरूमाथि आक्रमणमा उत्रिएको उनले बताए।
‘हामी खाजा खाइरहेका थियौँ। केही व्यक्तिहरू होटलमा छिरेर हामीमाथि पछाडिबाट अन्धाधुन्ध हमला गर्न थाले। हामीमाथि खुकुरी प्रहार गर्न थालेपछि हामीहरु निकै डरायौँ । उनीहरु धेरै जना भएका कारण हामीले प्रतिकार गर्न सकेनौँ । आक्रमणबाट मेरो टाउकोमा गम्भीर चोट लाग्यो । मेरो साथी अभिषेकको हात भाँचियो,’आयुषले भने।
उनका अनुसार अभिषेकको हातमा उपचारका क्रममा स्टिलको रड राख्नुपरेको छ। आक्रमणकारीहरूसँग आफूहरूको कुनै चिनजान वा व्यक्तिगत रिसइवी नरहेको उनी बताउँछन् । बिना कारण ज्यान मार्ने उद्देश्यले आफुहरुमाथि आक्रमण गरिएको उनको भनाई छ । उनीहरुमाथि सांघातिक आक्रमण भएको सिसी टिभी फुटेजमा समेत देख्न सकिन्छ ।
घटनापछि आफूहरूले अभिभावकको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘ज्यान मार्ने उद्योग’सम्बन्धी जाहेरी दिएको आयुषले बताए। जाहेरीका आधारमा सोम गुरुङ, सुभास गुरुङ, ‘भोटे’ नामले चिनिने एक व्यक्ति तथा ज्योति नाम गरेका व्यक्ति पक्राउ परेका भए पनि केही दिनमै छुटेको उनको भनाइ छ।
‘पक्राउ परेका व्यक्तिहरू ८–१० दिनमै छुटे। अहिले पनि उनीहरू हाम्रै टोल वरिपरि घुमिरहेका हुन्छन्। केही दिनअघि मात्रै उनीहरुले मेरो अर्को साथीलाई पनि बिनाकारण निर्घात कुटपिट गरे । कुटपीटका कारण उसको आँखामा समेत गम्भीर चोट लागेको छ,’ उनले भने।
आक्रमणकारीहरू खुला रूपमा हिँडडुल गरिरहेको भन्दै आफूहरूले असुरक्षाको महसुस गरिरहेको आयुषको गुनासो छ। ‘स्कुल जाँदा–आउँदा बाटोमै फेरि आक्रमण गर्ने हुन् कि भन्ने डर लाग्छ। यही त्रासका कारण पढाइमा समेत असर परेको छ,’ उनले बताए।
आक्रमणका कारण घाइते भएका आयुषका साथी अभिषेकको उपचार भइरहेको छ । अभिषेककी आमाले आफ्नो छोरामाथि अन्यायपूर्ण आक्रमण भएको बताइन्। आफ्नो छोराको कुनै गल्ती नभएको र साथीसँग खाजा खान गएको बेला उनीहरुमाथि पछाडिबाट हमला गरिएको उनले बताइन् ।
‘मेरो छोराको हात भाँचिएको छ। उपचारका क्रममा हातमा स्टिलको रड राखिएको छ। ऊ विदेश जाने तयारीमा थियो तर अहिले त्यो सम्भावना नै टरेको छ। पढाइमा असर परेको छ, काम गरेर कमाउन पनि सक्दैन। उसको भविष्य नै अन्योलमा परेको छ,’ अभिषेककी आमाले दुखेसो पाखिन् ।
उनले परिवारको कसैसँग पनि कुनै दुश्मनी नरहेको उल्लेख गर्दै घटनापछि परिवारका सदस्यहरू डर र त्रासमा बाँच्न बाध्य भएको बताइन्। ‘उनीहरू हाम्रै टोलमा घुमिरहेका हुन्छन्। फेरि कतैबाट आएर आक्रमण गर्ने हुन् कि भन्ने डर छ। हामीलाई आफ्नै ठाउँमा पनि असुरक्षित महसुस भएको छ,’ उनले भनिन्।
पीडित पक्षले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न तथा आफूहरूको सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेको छ।