काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः पार्टी सभापति पदमा चयन भएका छन्। पार्टीको प्रथम महाधिवेशनअन्तर्गत सभापति पदका लागि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टीलाई आगामी दिनमा थप सुदृढ बनाउने तथा संगठन विस्तारलाई प्राथमिकता दिने नेतृत्वको आवश्यकता औंल्याएका थिए। सोही क्रममा लामिछानेको नेतृत्वमा सहमति जुटेको पार्टी स्रोतले जनाएको छ।
सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि निर्वाचन प्रक्रिया बिना नै लामिछाने सर्वसम्मत चयन भएका हुन्। पार्टीभित्रको एकता कायम राख्दै आगामी राजनीतिक चुनौती सामना गर्ने उद्देश्यले सर्वसम्मतिको वातावरण बनाइएको नेताहरूले बताएका छन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै लामिछानेले आफूलाई पुनः विश्वास गरेर जिम्मेवारी दिएकोमा पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे। उनले रास्वपालाई सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति चयनका साथै आगामी कार्यदिशा र राजनीतिक रणनीतिबारे समेत छलफल गरिरहेको छ। पार्टीले आगामी दिनमा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा नीति निर्माणमा विशेष ध्यान केन्द्रित गर्ने जनाएको छ।