अख्तियारको प्रहरी दुरुपयोग भएको खुलाशा : करकापमा पारेर बयान लिएको प्रकाश पाठकको आरोप

दियोपोस्ट संवाददाता  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई लगायतलाई ज्यानमार्ने धम्की दिने प्रकाश पाठकमाथिको अनुसन्धानमा काठमाडौं प्रहरीले गम्भिर लापरबाही गरेको भेटिएको छ । राईसहित १० उच्च अधिकारीको ज्यान लिने धम्की दिने उग्रवादी संगठन नेपाल (ईजिएन)का प्रमुख प्रकाशक पाठकमाथिको अनुसन्धान र बयानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै टोली खटाइएको पाइएको हो । हाल कारागार चलान भइसकेका प्रकाश पाठकले अदालतमा बयानको क्रममा आफूलाई अख्तियारको प्रहरीले करकापमा पारेको बताएका छन् । राईमाथि ज्यान मार्ने धम्की दिने पाठकमाथि अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै लिखित जाहेरी दिएको थियो ।

जाहेरी दिने अख्तियारको टोलीले नै संगठित अपराध, आपराधिक षडयन्त्र, विद्युतीय कारोबार र हुण्डी सम्बन्धी कसुरमा अनुसन्धान गरेको भेटिएको हो । जबकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार कारबाही किनारा लगाउनुपर्ने विषयमा मात्रै अनुसन्धान गर्छ । तर, आफ्नै प्रमुख आयुक्तलाई धम्की दिएको घटनामा भने विवादास्पद रुपमा अख्तियारको प्रहरीले प्रमुख अभियुक्त प्रकाश पाठकसँग केरकार र बयान लिएको पाइएको हो ।

स्रोतका अनुसार बयान तथा अभियोजन पत्र तयार पार्ने क्रियाकलापमा अख्तियारका प्रहरी उपरिक्षक एसपी मोहन थापा आफै संलग्न भएका थिए । थापा तीनै व्यक्ति हुन् जोमाथि व्यावसायी अनिल गजमेरलाई झूटा मुद्दा लगाएर फसाएको आरोप छ । उकेरा डटकममा विश्वकर्माले दिएको भिडियो अन्तर्वार्तामा थापासहित तत्कालिन एसएसपी विश्वराज पोखरेलसँग मिलेमतोमा झूटो मुद्दा लगाइएको र १९ महिना कारागार बसेपछि आफूले सफाई पाएको बताएका छन् । पोखराको लिचिबारीस्थित वास्तविक जग्गाधनी सुरज कुमार शाहहरुले पाउनुपर्ने जग्गामा अवैध रुपमा बसोबास गर्दै आएका ईन्द्र गौचन लगायतको भूमाफियालाई फाइदा पुग्नेगरी पीडितलाई नै झूटा मुद्दा लगाएर घुस खाने एमाले मन्त्री बलराम अधिकारी लगायतलाई उन्मुक्ति दिने मुद्दाको नेतृत्वप नि उनै थापाले गरेका थिए ।
उनै थापाको प्रत्यक्ष संलग्नता र काठमाडौं प्रहरी प्रमुख रमेश थापाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी नै दुरुपयोग गरेर अनुसन्धान तथा अभियोजन भएको पाइएको हो । अदालतमा बयानका क्रममा सरकारी वकिलले प्रहरी समक्ष दिएको बयान सुनाएका थिए । उक्त बयानको जवाफमा उनले आफूले बयान नै नपढी हस्ताक्षर गरेको र सहिछाप गरेको बयान दिएका छन् । ‘मैले उक्त ब्यहोरा नपढी सहिछाप गरेको हो । अख्तियारको प्रहरी समेत सोही ठाउँमा रहेकाले करकापमा परी मैले उक्त बयान व्यहोरामा सहीछाप गरेको हो,’ पाठकले अदालतको बयानमा भनेका छन् ।


पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको हत्याको सुपारी दिएको दाबी सहित समाचार सम्प्रेषण गरिरहेको नागरिक उडयन प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक प्रदीप अधिकारीलाई पनि आफूले कहिल्यै नचिनेको उनले बयान दिएका छन् ।

‘सह—प्रतिवादी प्रदिप अधिकारी क्यानमा कार्यरत भन्ने सम्म थाहा जानकारी छ । निजसँग मेरो कुनै प्रत्यक्ष सम्बन्ध भेटघाट केहीपनि छैन । निजसँग कुनै रिसईवी लेनदेन, झैझगडा केहीपनि छैन,’ उनले बयानमा भनेका छन् ।

२०८२ मंसिर १३ गते आयोगका प्रमुख आयुक्त राईसहित १० व्यक्तिको हत्या गर्ने धम्की दिएर अख्तियारकै ईमेलमा पठाएको पत्र पत्र दियोपोस्ट डटकमले पहिलो पटक खुलाशा गरेको थियो । समाचार प्रकाशित भएपछि प्रहरीले धम्की पाउने १० व्यक्तिको सुरक्षाका लागि सर्कुलर गरेको थियो । यता घटनाको मुख्य व्यक्ति प्रकाश पाठक भने फिलिपिन्समा लुकेर बसेको खुलेपछि प्रहरीले ईन्टरपोलको सहारामा उनलाई पक्राउ गरि नेपाल झिकाएको थिया । संगठित अपराधसहितको एकीकृत कसुरमा उनलाई ९० दिन हिरासतमा राखिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेको समयमा उनले दिएको बयानमा राईलाई धम्की दिने समुहमा तत्कालिन नागरिक उडयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको पनि संलग्नता रहेको बयान दिएको उल्लेख थियो । त्यस्तै निर्माण व्यावसायी नविन बस्नेत, संचारकर्मी प्रमोद सेढाइँ लगायतको पनि संलग्नता रहेको भन्दै प्रहरीले मिडिया ट्रायल गराएको थियो । तर, मुख्य अभियुक्त पाठकले सेढाइँ र बस्नेतसँग आफ्नो चिनजान समेत नरहेको बयान दिएका छन् । उनले प्रहरी, सरकारी वकिल र अदालतमा समेत बस्नेत र सेढाइँसँग चिजान नै नरहेको बयान दिएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शन लामिछानेको ईजलाशले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

भ्रष्टाचार मुद्दाको अनुसन्धान र अभियोजन गर्नुपर्ने अख्तियारको प्रहरी काठमाडौं प्रहरीमा घुसेर ज्यान सम्बन्धी कसुरको अनुसन्धानमा सामेल भएको विषयमा प्रतिक्रयाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपाने र सुचना अधिकारी गणेश प्रसाद अधिकारीलाई पटक पटक सम्पर्क गर्दा उनीहरुले फोन उठाएनन् ।

अख्तियारका ‘प्रमुख आयुक्तले १० दिनमा राजिनामा नदिए हत्या गर्ने’ उग्रवादी संगठनको धम्की (पत्रसहित)

सिफारिस