काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले १० दिन भित्र राजिनामा नदिए हत्या गरिदिने धम्की दिएको पत्र प्राप्त भएको छ । धम्कीसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै ईमेलमा समेत पाठाएको पाइएको हो ।
धम्की दिने समुहले आफूलाई उग्रवादी संगठन नेपाल भनेर पत्रको लेटरहेड प्रयोग गरेको देखिन्छ । अंग्रेजीमा (Extremist Group of nepal) अर्थात उग्रवादी संगठन नेपाल नामको यो संगठनलृे दियोपोस्टकर्मीलाई भारतीय नम्बरबाट फोन गरेर आफूहरुले प्रेम राईको हत्या गर्ने योजना बनाएको पत्र सार्वजनिक गरिदिन भनेको छ ।

‘तपाईंसहित १० व्यक्तिको हत्या गर्ने हाम्रो केन्द्रीय समितिले निर्णय गरेको छ । यो खबर तपाईंलाई नै दिनुपर्दा हामीलाई दुख लागेको छ । अस्थिर भ्रष्ट सत्ताको कारण कर्मचारी तन्त्रमा प्रवेश गर्नुभएको तपाईंले तुरुन्त राजिनामा दिनु होला,’ प्रेम कुमार राईलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ,‘यदि तपाईंले १० दिन भित्र राजिनामा दिनु भएन भने हामी तपाईंलाई केही पनि गर्ने छैनौँ । हामी तपाईंलाई तपाईंको अन्तिम ईच्छा पुरा गर्नका लागि १० दिनको समय दिइरहेका छौँ ।’

अध्यक्ष बताउने प्रकाश पाठकले हस्ताक्षर गरेको पत्रमा आफूहरुले फरार भएका सबै कैदीको सुची पछिल्लो पत्रमा पठाएको र यो हत्या आफूहरुले नगर्ने तर, फरार भएका कैदी मार्फत गराउने धम्कीपत्रमा उल्लेख छ । ‘हामीले यो हत्या आफै गर्दैनौँ । भागेका कैदीले हाम्रा लागि यो काम गर्नेछन् । हामी उनीहरुलाई पैसा दिने छौँ । यो घटनाको जिम्मेवारी हामीले लिने छौँ ।’
डिआइजी काफ्ले भन्छन्,‘भिआइपी सुरक्षा गर्न नेपाल प्रहरी सक्षम छ’

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरिक्षक (डिआइजी) अवि नारायाण काफ्लेले आफूहरुलाई यस्तो धम्कीबारे आधिकारीक जानकारी नभएको बताए । यद्धपी भिआइपीको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष दल व्यवस्था रहेको र त्यस्ता व्यक्तिको सुरक्षाका लागि प्रहरी सक्षम रहेको उनले बताए । अति विशिष्ट व्यक्तिको हकमा पनि आफूहरुसहित नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रुपमा सुरक्षा दिने उनले बताए ।