काठमाडौँ । नेपाल एयरलाइन्समा कार्यरत एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशका मुद्रासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौँको बनस्थलीमा बसोबास गर्दै आएका कमलनारायण विश्वास रहेका छन्।
विश्वास नेपाल एयरलाइन्सअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड इक्विपमेन्ट अपरेटरका रूपमा विगत १६ वर्षदेखि कार्यरत थिए। उनी सोमबार राति करिब ८ः३० बजे बाटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए।
विमानस्थल सुरक्षा कार्यालयले नियमित जाँचका क्रममा उनको लगेज परीक्षण गर्दा फलामको कराहीभित्र लुकाएर राखिएको विभिन्न देशका मुद्रा फेला पारेको थियो। बरामद गरिएको रकम नेपाली रुपैयाँमा करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विश्वासले यसअघि २६ पटक विदेश यात्रा गरिसकेका छन्। उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियाली, श्रीलंकाली, जापानीलगायत विभिन्न देशका मुद्रा बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।