नेपालगन्ज । लगातार बढ्दो गर्मी र वर्षा नहुँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयहरूमा पुनः तीन दिन बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार असार १० गते बुधबारदेखि १२ गते शुक्रबारसम्म नगरभित्रका सबै विद्यालयहरूमा पठनपाठन स्थगित गरिएको छ।
असारको पहिलो सातासमेत बितिसक्दा वर्षा नभएकाले तापक्रम उच्च रहँदा जनजीवन प्रभावित बनेको छ। यसअघि पनि अत्यधिक गर्मीकै कारण उपमहानगरपालिकाले जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालय बन्द गरेको थियो। तर मौसममा सुधार नआएपछि पुनः बिदा दिनुपर्ने अवस्था सिर्जना भएको शिक्षा महाशाखाले जनाएको छ।
विद्यार्थीहरूलाई विद्यालय आवतजावत गर्न कठिनाइ हुनुका साथै गर्मीका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायको सुझावका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख प्रशान्त बिष्टले जानकारी दिए ।