
काठमाडौँ ।बिरामी अस्पताल किन जान्छन् ? जवाफ स्पष्ट छ- उपचारका लागि । तर उपचारका लागि अस्पताल पुगेका बिरामी थप बिरामी भएर फर्कनु पर्यो भने के होला ? गाउँबाट उपचारका लागि सामान्य अवस्थामै अस्पताल पुगेका बिरामीलाई ४० घण्टामै एक लाखभन्दा बढीको बिल उठाइदिएपछि बिरामी त आत्तिने नै भए । अस्पतालको बिलका कारण बिरामी थप बिरामी मात्रै बनेनन्, अस्पतालले जारी गरेको बिल हेर्दा जो कोही पनि बिरामी पर्ने अवस्था छ । किनभने सिनामंगलको होप अस्पतालमा उपचारका लागि पुर्याइएका नुवाकोटका एक बिरामीको होप अर्थात् आशा नै अस्पतालले समाप्त पारिदिएको छ; कारण- उपचारभन्दा पनि अस्पतालले आर्थिक रूपमा कसरी लुट्छ भन्ने हो ।
हो, वास्तवमै नुवाकोटबाट उपचारका लागि सिनामंगलको होप अस्पतालमा पुगेका एक बिरामीको आशा र भरोसा नै हराउने गरी होप अस्पतालले बिरामीमाथि लुट मच्चाएको पाइएको छ ।
बिरामीको पैसा लुट्न यहाँ एम्बुलेन्स चालकदेखि अस्पतालका कर्मचारी, डाक्टर सबैको मिलेमतो देखिन्छ । मिलेमतो पनि यतिसम्म कि गर्दै नगरेको टेस्टको समेत बिल दिएर तिर्न बाध्य पारिएको छ भने हिसाब गर्दा बढी रकम लेखिएको छ । अनि सरकारले हटाइसकेको ३ प्रतिशत स्वास्थ्य सेवा शुल्कसमेत अझै उठाइँदै छ ।
पहिले नुवाकोटका एक बिरामी कसरी लुटिए, त्यो बुझौँ ।
नुवाकोटका ५९ वर्षीय चन्द्रबहादुर श्रेष्ठको गोडा केही सुन्निएको र चलाउनसमेत समस्या भएपछि एम्बुलेन्सबाट उपचारका लागि भन्दै साउन १६ गते शनिबार अर्थात् अगस्ट १, २०२६ का दिन नुवाकोटबाट काठमाडौँ ल्याइएको थियो । सुरुमा उपचारका लागि भन्दै त्रिवि शिक्षण अस्पताल लगिएकामा त्यहाँ बेड नभएको भन्दै बिरामी हेर्न मानिएन । यद्यपि त्यहीँका डाक्टरहरूले न्युरोसम्बन्धी समस्या हुन सक्ने भन्दै उनलाई न्युरो अस्पताल लैजान सुझाव दिए । त्यसपछि नुवाकोटबाटै आएको एम्बुलेन्समा बिरामीलाई बाँसबारीस्थित न्युरो अस्पताल लगियो ।
तर त्यहाँ पनि बेड नभएको र एमआरआई गर्न बिरामीहरू लाइनमा रहेका कारण तत्काल उपचार सम्भव नहुने भन्दै एम्बुलेन्सबाटै ओरालिएन । त्यसपछि बिरामीका आफन्तले वीर अस्पताल वा केएमसी कहाँ जाने होला भनेर सोधखोज गर्दै गर्दा एम्बुलेन्स चालकले सिनामंगलकै होप अस्पताल राम्रो छ, त्यहीँ लैजाउँ भने । साथै एम्बुलेन्स चालकले अस्पताल सस्तो भएको र छुटसमेत गराइदिन सक्ने बताए । बिरामी र उनका आफन्तले कहिल्यै होप अस्पतालको नाम नसुनेको भए पनि एम्बुलेन्स चालकको सुझावअनुसार उनीहरू साउन १६ गते शनिबार साँझ ५ बजेतिर अस्पताल पुगे ।

अस्पतालले बिरामीलाई तुरुन्तै आईसीयूमा राख्नुपर्ने बतायो, जबकि बिरामीको गोडा अलिकति सुन्निएको र एउटा गोडा चलाउन कठिनाइ मात्रै भएको थियो । बिरामीका आफन्तले आईसीयूमा राख्न आनाकानी गर्दै गर्दा अस्पतालले बिरामीलाई आईसीयूमा पुर्याएको बिरामीका आफन्तले दियोपोस्टलाई बताए । बिरामीका आफन्त धर्मराज श्रेष्ठका अनुसार बिरामीको अक्सिजन लेभल ९६ बाट घटेर ९३ मा आएको भन्दै अस्पतालले जबरजस्ती आईसीयूमा लगेको थियो ।
त्यही पनि बिरामीको उपचार राम्रो हुन्छ भने ठिकै छ नि त भन्दै उनीहरूले उपचार सुरु गराए ।
उपचारकै क्रममा बिरामीको सिटी स्क्यानका लागि भन्दै पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल पुर्याइयो र त्यहाँ ५ हजार रुपैयाँको टाउकोको एमडीसीटी स्क्यान गराइयो । त्यसपछि बिरामीलाई पुनः होप अस्पतालमै ल्याएर उपचार गराउन थालियो ।
उपचारका क्रममा सुरुमा २ हजार रुपैयाँ डिपोजिट गरेका बिरामीका आफन्तलाई कुन जाँच वा कुन बेडमा आईसीयूमा राख्दा दैनिक कति रकम खर्च हुन्छ भन्ने कुराको कुनै जानकारी नै दिइएन ।
बिरामी आईसीयूमा भएका कारण बिरामीका आफन्तलाई औषधि लिएर आउनु भनी औषधिको लिस्ट दिनेबाहेक अन्य कुनै कुरा नै गरेनन् । तर विभिन्न टेस्ट गरिरहेको र बिरामीलाई क्यान्सरको आशंका गरिएको भन्दै विभिन्न थरीको ल्याब टेस्ट भइरहेको जानकारी दिइयो ।
शनिबार साँझ अस्पताल पुर्याइएका बिरामीका लागि आइतबार साँझ कम्तीमा ५० हजार रुपैयाँ डिपोजिट गर्न भनियो । तर के-केमा कति-कति खर्च भयो भनेर कुनै जानकारी नै दिइएन ।
अस्पतालले अनावश्यक टेस्ट गराएको, आईसीयूमा राख्नु नै नपर्ने बिरामीलाई आईसीयूमा राखिएको र टेस्टको मूल्य पनि अत्यधिक महँगो भएको लागेपछि बिरामीका आफन्तले आइतबार साँझ नै बिरामीलाई डिस्चार्ज गरिदिन आग्रह गरे ।
तर होप अस्पतालले विभिन्न टेस्टहरूको रिपोर्ट आउन बाँकी रहेको भन्दै सोमबार मात्रै डिस्चार्ज गर्न सकिने बताए ।
बिरामीको आर्थिक अवस्थाका कारण महँगो अस्पतालमा उपचार गराउन नसकिने निष्कर्ष निकाल्दै बिरामीका आफन्तले बिरामीलाई डिस्चार्ज गराउन दबाब दिए । तर अस्पतालले आर्थिक कुरा हो भने बरु डिस्काउन्ट गरिदिन्छौँ भन्दै फकाउन खोज्यो । अधिकांश स्वास्थ्य परीक्षणका लागि रगतदेखि अन्य टेस्ट पनि अन्यत्रै गर्नुपर्ने देखेपछि अस्पताल ‘नाम मात्रैको रहेछ’ भन्दै बिरामीका आफन्तले अर्को अस्पतालमा लैजाने निर्णय गरे र डिस्चार्जका लागि दबाब दिइरहे । अस्पतालले डिस्चार्ज दिन नमानी लैजाने भए ‘लामा’ अर्थात् ‘लेफ्ट अगेन्स्ट मेडिकल एडभाइस’ (LAMA) मा मात्रै लैजान मिल्ने बतायो । त्यो भनेको अस्पतालले डिस्चार्ज नगरी बिरामी जबरजस्ती जाने भन्नु हो ।
बिरामीका आफन्तले ‘लामा’मै भए पनि लैजाने भनेपछि बिल तिर्न भनियो ।
बिल तिर्न जाँदा अस्पतालले कुल ७३ हजार ८२४ रुपैयाँ भएको जानकारी दियो । करिब ४० घण्टाको उपचारमा औषधिको १२ हजार ७०० रुपैयाँ पहिले नै तिरिसकेको र फ्रन्टलाइन अस्पतालमा सिटी स्क्यान गरेको रकम पनि उनीहरूले तिरिसकेकाले कसरी यति महँगो भयो भनेर सोधे ।
तर अस्पतालले स्पष्ट जानकारी नै दिएन र कुन शीर्षकमा कति खर्च भयो भन्ने जानकारीसमेत दिएन । बरु ‘लामा’ अर्थात् अस्पतालको सहमतिबिना बिरामी लैजाने भएकाले केही पनि दिन नमिल्ने भन्दै बिल तिर्न मात्रै दबाब दिइयो ।
त्यसपछि बिरामीका आफन्तले बिल मागे, जुन बिलमा कुल ७३ हजार ८२४ रुपैयाँ उल्लेख थियो । त्यसमा पहिले डिपोजिटवापत बुझाएको २ हजार रुपैयाँ घटाएर बाँकी हुने रकम ७१ हजार ८२४ रुपैयाँ बिरामीका आफन्तले बुझाए ।
तर बिरामी निस्कँदै गर्दा अर्को ८ हजार रुपैयाँको बिल छुटेको रहेछ भन्दै थप रकम तिर्न लगाइयो । त्यसपछि बिरामीका आफन्तले ब्रेकडाउन बिल अर्थात् कुन-कुन शीर्षकमा कति-कति खर्च भएको हो, सोको स्पष्ट बुझिने बिल माग गरे । अस्पतालले उक्त बिल दिन नै मानेन । बिरामीका आफन्तले बिल नदिए रकम तिर्दिनौँ भनेपछि बल्ल बिल दिइयो ।
टेस्ट नै नगरिएको बिलसमेत बिरामीलाई तिराइयो
होप अस्पतालले बिल जारी गर्दा यतिसम्म गरेको छ कि हुँदै नभएको टेस्टको समेत बिल जारी गरेको पाइएको छ । बिरामीका आफन्तले “मैले जे-जे टेस्टका लागि भनेर बिल तिरेको छु, ती सबैको रिपोर्ट यही फाइलमा हुनुपर्छ” भनेपछि अस्पतालले ५ हजार रुपैयाँको एउटा टेस्टको शुल्क घटाइदियो ।
टिबी क्वान्टिफेरोन अर्थात् IGRA टेस्टको शुल्कसमेत बिलमा समावेश गरिएको थियो, जुन टेस्ट भएकै थिएन । रिपोर्ट नभएपछि र टेस्ट नगरिएका कारण यो बिलको रकम हटाइयो र ५ हजार कम दिनुहोस् भनियो ।
यस्तो बिल त अरू पनि होला, किन नगरेको टेस्टको समेत बिल जारी गरेको भनी सोध्दा “यो गल्ती भयो” भन्ने जवाफबाहेक अरू केही दिएनन् । अनि “५ हजार रुपैयाँ घटाएर दिनुहोस्” भन्ने जवाफ दिए ।
तर अघिल्लो दिनकै लिनुपर्ने शुल्क ८ हजार रुपैयाँ छुटेको भन्दै उक्त रकमसमेत दिनुपर्ने भनियो । बिरामीका आफन्तले भने होप अस्पतालमा ‘थप लुटिनुभन्दा अन्यत्रै जानु बेस’ भन्दै तिर्नुपर्ने भनेको सबै रकम तिरेर बिरामीलाई अस्पतालबाट निकाले ।
अस्पतालभित्र लुटैलुट, ल्याब टेस्टमा समेत कमिसन !
होप अस्पताल सुविधासम्पन्न अस्पताल होइन । यो अस्पतालमा आवश्यक सबै प्रयोगशाला परीक्षण हुँदैन र रगत, दिसा-पिसाब लगायतका केही विशिष्टकृत परीक्षण गर्नु परेमा अन्यत्र पठाउने गरिएको छ ।
होप अस्पतालले बिरामी चन्द्रबहादुर श्रेष्ठका केही ल्याब टेस्टहरू सामाखुसीमा रहेको रिलायबल डायग्नोस्टिकमा गराएको छ । तर अस्पतालले अन्यत्र टेस्ट गराउँदा पाउने छुटबाहेक थप शुल्कसमेत बिरामीबाट लिएको पाइएको छ ।
उदाहरणका लागि अस्पतालले बिरामीसँग भिटामिन बी-१२ को ल्याब टेस्टको शुल्क २ हजार १०० रुपैयाँ र त्यसमा ३ प्रतिशत स्वास्थ्य सेवा शुल्कसमेत जोडेर २ हजार १६३ रुपैयाँ लिएको छ ।
तर सामाखुसीमा रहेको रिलायबल डायग्नोस्टिकले उक्त परीक्षण केवल १ हजार ७०० रुपैयाँमै गराउँछ र बिरामीलाई १० देखि १५ प्रतिशतसम्म छुट दिन्छ । दियोपोस्टसँगको कुराकानीमा डायग्नोस्टिककी एक कर्मचारीले १० देखि १५ प्रतिशतसम्म छुट हुने बताइन् ।
बिरामीलाई नै १५ प्रतिशतसम्म छुट हुँदा अस्पतालहरूलाई ५० प्रतिशतसम्म छुट दिने गरिएको छ । यस्तो अवस्थामा केवल करिब ८७५ रुपैयाँमै हुने टेस्टका लागि होप अस्पतालले २ हजार १६३ रुपैयाँ शुल्क लिएको छ ।
त्यसैगरी रिलायबल डायग्नोस्टिकको वेबपेजमै २ हजार ५०० रुपैयाँ तोकिएको प्याराथाइरोइड हर्मोनको टेस्टको शुल्क नै स्वास्थ्य सेवा शुल्कसहित २ हजार ७०३ रुपैयाँ ७५ पैसा लिइएको छ ।
अस्पतालको ल्याब टेस्ट पनि अति महँगो
अस्पतालले अन्यत्रबाट ल्याब टेस्ट गराउँदा लिने शुल्कमा कमिसन मात्रै खाएको छैन, आफ्नै अस्पतालमा हुने ल्याब टेस्टको शुल्क पनि अति नै महँगो बनाएको पाइएको छ ।
सामान्य अवस्थामा लिपिड प्रोफाइलको टेस्ट गर्दा बढीमा ५०० रुपैयाँ लाग्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको टेस्ट गर्दा केवल ३०० रुपैयाँमै गर्न सकिन्छ । तर होप अस्पतालमा यो टेस्टको शुल्क १ हजार रुपैयाँ राखिएको छ और त्यसले पनि नपुगेर ३० रुपैयाँ स्वास्थ्य सेवा शुल्कसमेत लिइएको छ ।
त्यसैगरी जनस्वास्थ्य प्रयोगशालामा ५० रुपैयाँमा हुने युरिक एसिड टेस्टको शुल्क २०० रुपैयाँ लिइएको छ भने ४०० रुपैयाँमा हुने ट्युमर मार्कर पिएसएको शुल्क १ हजार ४०५ रुपैयाँ ९५ पैसा लिइएको छ ।
होप अस्पतालका हरेक ल्याब रिपोर्टमा अत्यधिक शुल्क लिने गरेको पाइएको छ । होप हस्पिटल एन्ड कलेजका नामबाट मनमोहन मेमोरियल सामुदायिक अस्पताल भनेर चलाइएको भए पनि यो निजी क्लिनिकभन्दा पनि महँगो शुल्क लिइएको पाइएको छ ।
सरकारले खारेज गरेको ३ प्रतिशत स्वास्थ्य सेवा शुल्क अझै लिँदै !
सरकारले लागू गरेर केही दिनमै फिर्ता लिएको र साउन १४ गते राजपत्रमै सूचना प्रकाशन गरेर खारेज गरिसकेको स्वास्थ्य सेवा शुल्कसमेत होप अस्पतालले लिइरहेको पाइएको छ । होप अस्पतालले साउन १७ गते बिल जारी गर्दासमेत विभिन्न शीर्षकहरूमा स्वास्थ्य सेवा शुल्क थप गरेर बिरामीसँग लिएको बिलमा स्पष्ट रूपमा देख्न सकिन्छ । जबकि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै यसअघि लिइसकेको ३ प्रतिशत स्वास्थ्य सेवा शुल्कसमेत सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्न निर्देशन दिइसकेको छ ।
तर होप अस्पतालले सरकारको निर्देशन र राजपत्रको सूचनाको धज्जी मात्रै उडाएको छैन, अझै पनि गरिब जनतालाई महँगो शुल्कमाथि थप कर थोपरिरहेको छ ।
के भन्छ अस्पताल ?
यस विषयमा कुराकानी गर्दा अस्पताल प्रशासनले आफ्नो बचाउ गर्दै केही बिल गल्तीले बनेको भए पनि पछि सेवाग्राहीलाई फिर्ता गरिएको दाबी गरेको छ । अस्पतालका म्यानेजर अविनाशकुमार झाले टिबी क्वान्टिफेरोनको बिल भूलवश जारी भएको जिकिर गर्दै पछि सेवाग्राहीलाई फिर्ता गरिएको बताए । टेस्ट नै नभएको बिल कसरी बन्यो र सेवाग्राहीले रिपोर्ट मागेपछि मात्रै किन फिर्ता गरियो भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ नदिई सायद डाक्टरले लेखेको तर टेस्ट नभएको हुन सक्ने बताए ।

एम्बुलेन्स चालकलाई कमिसन दिने गरिएका कारण यहाँ सिफारिस गरिएको हो कि भन्ने दियोपोस्टको प्रश्नमा झाले आपत्ति जनाए । उनले कुनै पनि चालकलाई कमिसन दिने नगरिएको दाबी गरे ।
शुल्क तथा हिसाब गर्दा नमिलेको विषयमा औपचारिक कुराकानी गरेर रेकर्ड गर्ने भन्दा उनले अस्वीकार गरे । बरु दियोपोस्ट संवाददातालाई नै “तपाईँको पर्सनल इन्ट्रेस्ट पनि हुन सक्छ, कुराकानी गर्न अफिसियल पत्र लिएर आउनुहोस्, त्यसपछि छलफल गरौँला” भन्ने जवाफ दिए ।
(होप अस्पतालले कसरी फरक-फरक शीर्षक राखेर एउटै विषयको बिल जारी गर्यो, कसरी गर्दै नगरेको राउन्ड र उपचार गरिएको दिन वा सङ्ख्याको हिसाबमा गडबड गरेर बढी रकम लियो भन्ने विषय अर्को अङ्कमा प्रकाशन गरिने छ – सम्पादक)